नेपाली समय: ११:३४:१४ राती
वि.सं २०७८ कार्तिक ७   आइतबार

प्रदेश ५ लगानी सम्मेलन गर्दै, मुख्य मन्त्री पोखरेलले गरे बैंकर्सहरुसँग छलफल

निर्माण सञ्चार, १७ माघ, काठमाडौं । प्रदेश नम्बर ५ ले लगानी सम्मेलन गर्ने भएको छ। 

नेपाल बैंकर्स संघको गरेको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लगानी सम्मेलनलाई कसरी सफल बनाउन सकिन्छ भनेर राष्ट्र बैंक र बैंकर्स संघसँग छलफल गरेका छन्। 

मुख्यमन्त्री पोखरेलले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका साथै संघका पदाधिकारीहरुसँग छलफल गरेका थिए। 

पोखरेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै लगानीका अवसर तथा परियोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए। 
‘प्रदेश ५ आर्थिक, औद्योगिक, पर्यटकिय, कृषि, आदिमा प्रचुर सम्भावना बोकेको छ,’ उनले भने, ‘यो प्रदेश मुलुकको आर्थिक हबसमेत बन्न सक्ने सम्भावना छ ।’

सो छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सम्मेलनलाई भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यूले प्रादेशिक स्तरमा बैंकिङ्ग सेवा विस्तार गर्नको निमित्त नेपाल राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनहरुको बारेमा जानकारी दिनुका साथै यस प्रकारको सम्मेलनले वित्तीय साक्षरता तथा बैकिङ्ग पहुँच बढाउन थप मद्दत मिल्ने धारणा व्यक्त गरे ।

लगानी सम्मेलनलाई सफल र प्रभावकारी बनाउनका लागि संघका पदाधिकारीहरुले विभिन्न रायरसुझावहरु पेश गरेका थिए। 

सम्मेलन सफल बनाउन प्रदेश सरकार, राष्ट्र बैंक, बैंकर्स संघ तथा अन्य सरोकार निकायका प्रतिनिधिहरू सहितको एक कार्यदल गठन  गरेर अगाडि बढ्नु पर्ने सुझाव दिइएको थियो। 

उक्त बैठक तथा छलफलमा प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिती थियो ।

 

 

०००



प्रकाशित: २०७६ माघ १७
January 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार