नेपाली समय: ११:१४:३६ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

महाशिवरात्रि तयारीमा क्षेत्र विकास कोषः सुरक्षा र सेवामा समानता गर्न पर्यटनमन्त्रीको निर्देशन

निर्माण सञ्चार, २४ माघ, काठमाडौं । फागुन ९ गते हुने महाशिवरात्रि पर्वको भव्य तयारीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सहित पशुपति क्षेत्र विकास कोष जुटेको छ ।

भ्रमण वर्ष पनि भएको हुनाले यो वर्षका धार्मिक सांस्कृति पर्वहरु अन्तर्राष्ट्रिय स्तरमा सन्देश जाने किसिमले भव्य बनाउन पर्यटनमन्त्रालयको योजना रहेको भन्दै क्षेत्रविकास कोषले यो वर्षको महाशिवरात्रि छुट्टै किसिमले मनाउने तयारी गरिरहेको बताएको छ ।

महाशिवरात्रि पर्व सम्बन्धी सुरक्षा उपसमितिको पहिलो वैठक तथा सञ्चार साक्षात्कारलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले शुक्रबार पशुपतिमा महाशिवरात्री पर्वलाई विशेष बनाउन निर्देशन दिएका हुन् ।

सुमार्गी भवनमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, ‘भ्रमण वर्ष पनि भएकाले पशुपति नाथमा हुने यो महाशिवरात्रि पर्व भव्य र सभ्य बनाउनु पर्ने छ । यसको सन्देश राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै जानु पर्छ । मित्र राष्ट्र भारत र विश्वका जुनसुकै कुनामा रहेका हिन्दु धर्मावलम्बी तथा अन्य शुभचिन्तकहरु महाशिवरात्रिको सन्देशबाट नेपाल आउन प्रेरित गराउन हाम्रो ध्यान जान आवश्यक छ ।’

मन्त्री भट्टराईले महाशिवरात्री सुरक्षा उपसमितिलाई विशेष तयारीका लागि सुरक्षाकर्मीहरुलाई निर्देशन पनि दिए ।

‘महाशिवरात्रीमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउनु होस् । सुरक्षित बनाउनु होस् । यस क्षेत्रभित्र मद्यपान, धूमपान जस्ता अवैध पेय खाने र शान्तिसुरक्षा खलबलाउने जस्ता कार्यहरु नहोस् भन्नेमा सुरक्षा संयन्त्रको ध्यान जान जरुरी छ,’ उनले भने ।

महाशिवरात्रीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी लगायत मित्रराष्ट्र भारतबाट समेत विभिन्न विशिष्ठ व्यक्तित्वहरु आउने हुनाले सोको सुरक्षा संवेदनशीलता ख्याल गर्न मन्त्री भट्टराईले सचेत गराएका हुन् ।

महाशिवरात्री पर्व विशेष प्रचार पोस्टर र कार्डहरु बनाउन निर्देशन दिएका मन्त्री भट्टराईले पशुपतिनाथजीको दर्शन गर्न ठूला र साना भन्दै विभेद गर्ने प्रथा पनि हटाउन निर्देशन दिएका छन् । 

यस वर्षको महाशिवरात्रिमा विशेष पासको व्यवस्था अब नरहने भएको छ । कोषले मन्त्रीको निर्देशन अनुसार काम गर्ने कार्यकारी डा घनश्याम खतिवडाले बताए ।

डा खतिवडाले भने, ‘महाशिवरात्रिमा सबैलाई समान व्यवहार गरिने छ । कसैलाई विशेष पास त कसैलाई लाइन गरिने छैन । सबै भक्तजनहरुले लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन गर्न पाउने अवसर दिलाइने छ ।’

महाशिवरात्रि पर्वमा पशुपति क्षेत्र आसपास ५ हजार सुरक्षाकर्मीहरु परिचालन हुने छन् । पर्यटन मन्त्री भट्टराईले कुनै पनि नशालुजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाउने समेत निर्देशन दिएकाले कोषले सोही अनुसार काम गर्ने कोषको दाबी छ ।

०००
 



प्रकाशित: २०७६ माघ २४
February 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार