नेपाली समय: ०८:३३:३३ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

कञ्चनपुरको कञ्चभोजमा बन्ला त दोधारा–चाँदनी सुख्खा बन्दरगाह ?

निर्माण सञ्चार, २६ माघ, कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिका ७ कञ्चभोजमा सरकारले सुख्खा बन्दरगाह निर्माणको तयारी थालेको छ । 

विरगञ्‍जपछि यो देशकै दोस्रो सुख्खा बन्दरगाह हुनेछ । २०६४ सालमा नेपाल सरकारले माहाकाली नगरपालिकाको कञ्‍जभोजमा सुख्खाबन्दरगाह निमार्ण गर्ने प्रस्ताव ल्याएको थियो । 

त्यसपछि, निर्माणको प्रक्रियागत कारणले ढिलाइ भएको सुख्खा बन्दरगाहको कार्य हालै नियुक्त भएका बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अगाडि बढाएका हुन् ।

मन्त्री भट्ट नेतृत्वको मन्त्रालयको टोलीले शुक्रबार प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रमा पुगेर स्थानीयसँग अन्तक्रिया  पनि गरेको छ । मन्त्रालयको टोलीले भारतसँगको ‘कनेक्टीभिटीु’, भारतको रेल लाइन, भारतले दिने भनिएको सुख्खा बन्दरगाहसम्मको पहुँचमार्ग पनि अवलोकन गरेको छ ।

उनले, दुई देशका अधिकारीबीच सुख्खा बन्दरगाहको बारेमा कुरा भइसकेको बताए । ‘दुई देशका सरकारबीच पश्चिमी सीमा नाकामा सुख्खा बन्दरगाह बनाउने, दुबै देशको एकीकृत भन्सार बनाउने र नेपाल भारत चीनसँगको ब्यापारको त्रिदेशीय नाका बनाउने सहमति भइसकेको छ,’मन्त्री भट्टले भने ।

उनले, सरकारले खाली जग्गामा सुख्खाबन्दरगाह निर्माण गरे कुनै विरोध नहुने बताए । मन्त्रालयको प्राविधिक टोलीले बन्दरगाहका लागि कम्तीमा पनि दुई सय विघा जग्गा आवश्यक रहेको जनाएको छ । त्यसका लागि केही, स्थानीयको घरजग्गा अधिग्रहण गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

उनले नेपालमा ढुवानी पनि सस्तो हुने र सदियौंदेखि पछाडि परेका क्षेत्रको विकास पनि हुने भएकाले दोधाराचाँदनी छनौट गरेको बताए।

 

०००



प्रकाशित: २०७६ माघ २६
February 9th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार