नेपाली समय: ११:५५:३९ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

सरकारले लगायो ३० अप्रिलसम्म पर्यटक भिसामा रोक

निर्माण सञ्चार, ३० फागुन, काठमाडौं । नेपाल सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ। 

‘हामीले अप्रिल ३० सम्मका लागि सम्पूर्ण पर्यटक भिसामा रोक लगाउने निर्णय गरेका छौं,’ प्रधानमन्त्रीको कार्यालयका सचिव नारायण प्रसाद बिँडारीले भने।

उप–प्रधामन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले यो निर्णय गरेको हो।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको हो।

यसैगरी मार्च १४ बाट लागु हुने यो नियममा सरकारले त्यसयता नेपाल आउने विदेशी, नेपाली वा गैर आवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ।

सरकारको पछिल्लो निर्णय अनुसार अत्यावश्यक कामका लागि नेपाल आउनुपरेमा विदेशीले नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्र गरिएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

सरकारले गैर आवासिय नेपालीलाई परिचयपत्रका आधारमा दिने भिसा पनि केही समयका लागि स्थगित गरेको छ।

उनीहरू नेपाल आउनुपर्ने भए उनीहरूले पनि विदेशी नागरिकले झैं नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्र स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरेर सम्बन्धित देश वा नजिकको नेपाली नियोगमा भिसा आवेदन दिनुपर्नेछ।

त्यसैगरी नेपाल सरकारले सामुहिक जमघट हुने कुनै पनि प्रकारका सामाजिक, सार्वजनिक र पारिवारिक कार्यक्रमहरू नगर्न भनेको छ।

कोरोनाभइरसको संक्रमणलाई ध्यानमा राख्दै संसदसमेत एक सातासम्मका लागि स्थगित गरिएको छ।

सरकारले यस वर्षको सगरमाथा आरोहणका सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय गरेको छ।

‘सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको छ’, बैठकको निर्णयमा भनिएको छ।

छिमेकी राष्ट्र चीनले यसअघि नै यसवर्षको सगरमाथा आरोहण कार्यक्रममा रोक लगाइसकेको छ।


०००



प्रकाशित: २०७६ फाल्गुण ३०
March 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार