नेपाली समय: ०६:२७:५६ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

भारतसँगका ५ नाका बन्द, ५ मा हेल्थ डेस्क

निर्माण सञ्चार, ३० फागुन, काठमाडौं । कोभिड–१९ को संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् ।

पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।

डुंगाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । 

भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ ।

मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ । तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो ।

झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् । डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

हेल्थ डेस्कमा उपकरण अभाव

तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ । सो कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए ।

ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँचको काम प्रभावित भएको उनले बताए । ‘ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ ।’

तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यसैबीच, शंकास्पद लक्षण भएका बिरामीका लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा वसन्तराज जोशीले जानकारी दिए ।

‘शंकास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ,’ उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको हो ।’


०००



प्रकाशित: २०७६ फाल्गुण ३०
March 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार