नेपाली समय: ०८:२४:०१ pm
वि.सं २०७७ आश्विन ५   सोमवार

जुम्लामा हप्ते कफ्र्यु, कैलालीदेखि अर्घाखाँचीसम्म ‘लक डाउन’, ‘कर्फ्यु’को समयमा घरबाहिर ननिक्लिन चेतावनी !

निर्माण सञ्चार, १० चैत, काठमाडौं । विश्वमहामारी कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै पूर्वतयारीका रुपमा जुम्लामा एकहप्ते कफ्र्यु जारी गरिएको छ ।

जुम्ला संवाददाता सागर परियारका अनुसार आइतबार बसेको विपद व्यवस्थापन समिति जुम्लाले यस्तो निर्णय लिएको हो ।
जुम्लामा चैत १० देखि १६ सम्म ‘लकडाउन’ गरिने निर्णय गरेको हो । 

निर्णय अनुसार अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न सर्वसाधारणका लागि सूचना गरेको छ । 
एक हप्ताका लागि ‘लकडाउन’ नीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिएकी हुन् ।

यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । प्रतिष्ठानले पनि आफ्ना आपतकालीन बाहेक सेवाहरु बन्द गरेको छ ।

त्यस्तै, आइतबारदेखि नै जुम्ला विमानस्थल र नाग्म जुम्लाको सिमाना नाग्ममा हेल्थडेक्स स्थापना गरिएको छ । जुम्ला बहुमुखी क्याम्पसमा एकसय बेडको क्वारेन्टाइन राख्ने निर्णय समेत भएको छ । 

...
० कैलालीमा सोमबार मध्याह्नदेखि अनिश्चितकालीन कर्फ्यू !

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) घोषणा गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा जिल्लावासीको सुरक्षालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

जिल्ला सुरक्षा समितिको बैठक पछि जारी सूचना अनुसार अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासनले निषेधाज्ञा अवधिभर भिडभाड नगर्न साथै सवारी साधान आवत जावतमा समेत रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दिएको जानकारी अनुसार निषेधाज्ञा पूर्ण रूप लागू हुने छ । यो समाचार तयार पार्दासम्म कफ्र्युले जनजीवन प्रभावित भएको छ । 

निषेधाज्ञा अवधिमा विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने प्रजिअ बोहोराको भनाइ छ ।

त्यस्तै, कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको छ।

कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
...
० अर्घाखाँची सोमबार रातिदेखि ‘लक डाउन’

नोवेल कोरोना भाइरस (कोभिड १९) को जोखिमयुक्त संक्रमण रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबारबाट अर्घाखाँची जिल्ला ‘लक डाउन’ गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

जस अनुसार अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकल र मानिसहरुको आवतजावत रोक लगाइएको छ । 

सोमबार राति १२ बजेदेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको भनाइ छ ।

 

OOO



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार