नेपाली समय: ०४:२३:४९ अपरान्ह
वि.सं २०८३ बैशाख ८   मंगलवार

नेपालमा कोरोनाः ८०२ को परीक्षण गर्दा ३ जनामा मात्रै ‘पोजेटिभ’, २ को अवस्था सामान्य- १३ जना ३ अस्पतालका आइसोलेसनमा

निर्माण सञ्चार, १४ चैत, काठमाडौं । महामारीकै रुप नलिई नियन्त्रणकै अवस्थामा रहेको दाबी गरेको सरकारले कोरोना संक्रमण भाइरसको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहरुलाई टेकु अस्पतालको आइसोलेनसमा राखेर उपचार भइरहेको छ।  

शुक्रबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित दुई जनाको अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।

प्रवक्ताका अनुसार नेपालमा कोरोनाको अवस्थाबारे जानकारी लिन सरकारले अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण गरेको छ । तर, तीमध्ये मात्रै ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस अघि नै संक्रमित एकजना  निको भएर घर फर्किसकेका छन् ।

० कहाँ कहाँ छन् आइसोलेसन बसेका ?

प्रवक्ता देवकोटा अनुसार टेकु अस्पतालमा रहेका २ संक्रमितबाहेक राजधानीका विभिन्न ३ अस्पतालमा १३ जना आइसोलेसनमा राखिएका छन् ।

तिनमा टेकु अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ र कान्तिबाल अस्पतालको आइसोलेनमा ३ जना बसेका छन् । 

० राजधानी बाहिर पनि आइसोलेसनमा तर, मन्त्रालयलाई छैन जानकारी !

प्रदेशैपिच्छे आइसोलेसन वार्ड निर्माण गरेका विभिन्न प्रदेशमा आइसोलेसनमा मानिसहरु रहेका छन् । तापनि, सरकारलाई भने राजधानी बाहिर संघ वा केन्द्र मातहत रहेका कुन अस्पतालमा कति जना व्यक्तिहरु आइसोलेनमा रहेका छन् भन्ने यकिन डाटा छैन । 

प्रवक्ता देबकोटाले अहिलेसम्म पूर्ण विवरण नआएकाले आफूहरुले यकिन गरेर भन्न नसकेको स्वीकार गरेका छन् । 

केही दिनमा स्थानीय प्रदेश वा केन्द्र अन्तर्गत रहेका आइसोलेसनको विवरण जानकारी गराइने छ ।

पछिल्लो आँकडा आउने क्रममा रहेको देवकोटा बताउँछन् ।

० धरानबाट पनि अब कोरोना परीक्षण हुने

सरकारले शुक्रबारदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाको परीक्षण सुरु हुने बताएको छ । 

योसँगै पश्चिम क्षेत्रका विभिन्न अस्पतालबाट पनि कोरोना परीक्षण हुने पहल भइरहेको मन्त्रालयले जानकारी दियो ।

सरकारले आवश्यक परीक्षण उपकरणहरु मगाएको छ । चीनबाट पनि सोमबारसम्म थप पिपिई लगायत स्वास्थ्य परीक्षण उपकरणहरु नेपाल आइसक्ने मन्त्रालय स्रोत बताउँछ ।

विभिन्न प्रदेश सरकारले आफूहरुले आइसोलेसन बनाए पनि उपचारका लागि उपकरण नभएको गुनासो गरिरहेका छन् ।

०००

 

 



प्रकाशित: २०७६ चैत्र १४
March 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार