नेपाली समय: ०१:०२:२६ बिहान
वि.सं २०७७ आश्विन १५   बिहीवार

कोरोना अपडेटः कोरोना आशंकामा अस्पताल भर्ना भएका सैनामैनाका एक युवकको मृत्यु !

निर्माण सञ्चार, १६ चैत, काठमाडौं

कोरोना भाइरस लागेको आशंकामा अस्पताल भर्ना भएका एक युवकको स्वाब परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएको छ ।

उनी रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा भर्ना भएका थिए । त्यही उनको निधन भएको हो ।

कोरोना भाइरस संक्रमण विशेष अस्पतालका रुपमा बुटवल धागो कारखानामा सञ्चालित अस्पतालमा उनको मृत्यु भएको हो । 

युवक पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्दै आएका थिए । उनको उमेर ३३ वर्षको रहेको परिवार स्रोतले बतायो । 

कोबिड–१९ को उपचाररत ती युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सञ्चार क्षेत्रलाई जानकारी दिएका हुन्।

कोरोना भाइरस संक्रमणबाटै उनको मृत्यु भएको हो वा अन्य कारणले भन्ने प्रश्नमा युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि हुन बाँकी रहेको  भट्टराईको भनाइ छ । 

कारण उनको स्वाबको नमुना परीक्षणको अन्तिम रिपोर्ट आएको छैन । परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

उनी पनि बिदेशी रोजगारीबाट फर्किएको युवक हुन् । यही चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट उनी  काठमाडौं उत्रिएका थिए । भोलिपल्ट अर्थात् चैत ७ गते पब्लिक बस चढेर उनी रुपन्देहीको सैनामैना पुगेका थिए ।

स्रोत अनुसार सैनामैना पुगेपछि ज्वरो आएको थियो । लगत्तै स्थानीय मेडिकलमा स्वास्थ्य चेकजाँच गराए पछि कमी नभएको भन्दै चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको अहिले बनेको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकै दिन उनको मृत्यु भएको छ । रिपोर्ट कहिलेसम्म आइपुग्छ भन्नेबारे अस्पताल स्रोत अन्योलमै छ ।


०००



प्रकाशित: २०७६ चैत्र १६
March 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार