नेपाली समय: ०८:१०:५० बिहान
वि.सं २०७७ साउन २४   शनिवार

राहत प्याकेजको निजी क्षेत्रद्वारा स्वागतः ‘अर्थतन्त्र जोगाउने कदम’– सिएनआई, ‘थोपाथोपाबाट घैला भर्ने बाटो’– ग्रिल तथा स्टिल व्यवसायी महासंघ

निर्माण सञ्चार, १७ चैत, काठमाडौं । विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला मानव जीवन मात्र नभई विश्व अर्थतन्त्रलाई नै नराम्रो असर पार्दै छ । 

संयुक्त राष्ट्र संघ, विश्वस्वास्थ्य संगठन, विश्व बैंक, मुद्रा कोष, जी–२० जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले विश्व अर्थतन्त्रमा पर्न सक्ने क्षति न्यूनीकरण गरी महामारी पछिको विश्व अर्थतन्त्र जोगाउनेबारे विभिन्न कार्यक्रम घोषणा गरिरहेका छन् ।

यद्यपि, शक्ति राष्ट्र भनिएको अमेरिकाले आफ्नो मुलुकमा एक लाख २५ हजार बढी प्रभावित भइसक्ता पनि उचित कदम नचालेको भन्दै आलोचना भइरहेको छ भने अर्काेतिर चीन, दक्षिण कोरिया, सिंगापुर जस्ता मुलुकले कोरोना महामारीलाई नियन्त्रण गर्ने नमूना प्रदर्शन गरिरहेका छन् । 

तथापि, कोरोना महामारीद्वारा अर्थतन्त्रमा पर्न जाने असर न्यूनीकरण गरी मजदुर, उद्यमी, व्यवसाय क्षेत्रको सन्तुलनका लागि नेपाल सरकारले पनि विभिन्न आर्थिक प्याकेज घोषणा गरेको छ ।

राष्ट्र बैंकले घोषणा गरेका आर्थिक प्याकेज सहित सरकारले अघि सारेका कार्यक्रमको नेपाल उद्योग परिसंघले समुचित कदम भन्दै स्वागत गरेको छ । 

विज्ञप्ति मार्फत् उसले भनेको छ, ‘अत्यावश्यक बाहेक अन्य क्षेत्र बन्द रहेको तथा विश्वको अर्थन्त्रको प्रभाव नेपालमा समेत पर्ने निश्चित छ । यस्तो अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य रहेको परिसंघले महशुस गरेको छ ।’

परिसंघ पदाधिकारी वैठक पछि जारी उक्त विज्ञप्तिमा अघि भनिएको छ, ‘मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता वचाईराख्न सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।’

विभिन्न समयमा परिसंघले उठाउदै आएका विभिन्न विषयहरुलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको प्रतिक्रिया दिएको परिसंघले सरकारको यस कदमले ‘निजी क्षेत्रको मनोवललाई जोगाई राख्न मद्दत पुग्ने विश्वास’ लिएको छ ।

त्यस्तै, घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई) ले महामारी नियन्त्रणका लागि स्थानीय तहमा लाग्न मातहत जिल्ला संघ तथा विभिन्न एकाइहरुलाई निर्देशन नै जारी गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहलाई उद्धृत गर्दै जारी सम्प्रेषण मार्फत् एफएनसिएसआईले ‘महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन महासंघको मातहतका निकायलाई सर्कुलर’ गरेको जनाएको छ ।

उसले पनि सरकारको राहत प्याकेजको स्वागत गरेको छ ।

त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघले पनि सरकारद्वारा घोषणा गरिएका आर्थिक प्याकेजहरुको स्वागत गरेको छ । 

आत्मनिर्भर हुँदै उठ्तै गरेका वा बामे सर्दै गरेका साना उद्योग, लगानीकर्ता र श्रमिक मजदुरहरुका हकमा सरकारले घोषणा गरेको राहत प्याकेज न्यायिक रहेको अध्यक्ष मोहन कटुवालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ग्रिल महासंघले सरकारले थप गरेको बन्दाबन्दीको अवस्थाले ‘साना उद्योगहरुमा नराम्रो प्रभाव पार्ने र तिनमा कार्यरत श्रमिकहरुमा अझ बढी नकारात्मक प्रभाव पार्ने हुँदा दिउसो कमाएर घरपरिवार चलाउने श्रमिकहरुलाई कोरोना महामारीले भन्दा पनी भोक भोकै मर्ने पीर बढिरहेको’ उल्लेख गरेको छ । 

लक डाउन इच्छा नभई विश्वकै बाध्यता बताउँदै ग्रिल महासंघले सरकारले थोरै भए पनि राहत दिने गरी कार्यक्रम ल्याएको बताएको छ ।

तर, राहतको कार्यान्वयन फितलो नभई गतिलो हुनु पर्ने आग्रह राखेको ग्रिल उद्योगले सबै क्षेत्रले थोपाथोपा बटुलेर घैला भर्ने नीति लिए मात्र कोरोना पछिको अर्थतन्त्र मजबुत हुन सक्ने आँकलन गरेको छ ।

लक्षित बर्गले सहज किसिमले राहत पाउनु पर्ने राय राखेको ग्रिल महासंघले मातहतका आफ्ना क्षेत्रमा रहेका राहतको आवश्यकता परेका श्रमिकहरुको तथ्यांक तयार गरी स्थानीय सरकारलाई उपलब्ध गराउन समेत निर्देश दिएको छ ।

लक डाउनलाई पूर्ण पालना गर्न निर्देशन दिएको महासंघले सरकारले ल्याएको राहतको कार्यक्रम (बैकको ब्याज तथा किस्ता असार मसान्तसम्म तिर्न, घरभाडा छुट, विद्युतमा २५ प्रतिशत छुट, असंगठित क्षेत्रका श्रमिकलाई राहत) सहितका कदमहरुको ‘हार्दिक स्वागत’ गरेको उल्लेख गरेको छ ।

OOO



प्रकाशित: २०७६ चैत्र १८
March 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार