नेपाली समय: ०२:१२:२१ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

बालकथा– ‘जूनकिरी’

निर्माण सञ्चार, २२ चैत ०७६, साहित्य

आज कक्षामा एउटा कथा सुनाउनु पर्ने अघिल्लो दिनको कसम सम्झँदै रुपा मिस कक्षामा प्रवेश गर्नुहुन्छ ।

बालबालिकाहरुले एकै स्वरमा भन्न थाले, ‘मिस आज कथा सुनाउने भनेको हैन ..!’ मुुन्टो हल्लाउँदै मिस मुस्कुराउनुहुन्छ । अघिल्तिरको कुर्सीमा बस्दै गर्दा मिसका आँखा आकासतिर उँभो लाग्छन् । हातको चोरी औंलो चिउँडोतिर पुग्छ ।

मिस कथा सुरु गर्नुहुन्छ । सबै बालबालिका लट्ठ परेर सुन्न थाल्छन् ।
...

स्वच्छ आकाशमा मन्द मन्द रुपमा फैलदै धर्तीलाई आफ्नो बाहुमा अंगाल्ने सामर्थ्य आफुमा भएता पनि अनगिन्ति ताराहरुले सुस्केरा हाल्दै आफुलाई सधै लज्जित बनाउने हुँदा एकदिन चन्द्रमा धर्तीमा आई आफु केही दिन बिलिन हुन मन गरे।

आफ्नो इच्छालाई काबुमा राख्न नसकी मध्यरातमा उज्यालोलाई खोज्दै कराई राखेकी ‘किरी’को सामु आफ्नो रूप बदलेर हस्यांङ फस्यांङ गर्दै चन्द्रमा उनको सामुन्ने खडा भए ।

पसिनै पसिनाले चुर्लम्म भिजेका चन्द्रमालाई देखेर किरीले ‘को हौ, कहाँबाट आयौ ?’ जस्ता प्रश्न गर्न थालिन।

चन्द्रमा केही नसुनेझै गरी केही भाबुक मुद्रामा उभिरहे । आकाश तर्फ देखाउँदै झन् झन् स्याँ स्याँ गर्न थाले।

यो देखेर किरी अचम्ममा परीन् । सायद केही कुराले यिनी अतिएका छन् भन्दै सोध्न थालिन्, ‘कहाँ हिँडेका हौ यति मध्य रातमा तिमी ?’

केही बेर उसैलाई हेर्दै किरीले थपिन्, ‘यो मध्यरातमा यहाँ शिकार खोज्दै हिँडेको जनाबर भेटिन्छन। तिमी आज हामीकहाँ बस भोलि बिहान सबेरै आफ्नो बाटो लाग्नु !’

चन्द्रमाले पनि मुन्टो हल्लाई ‘हुन्छ’ भने । 

किरीले उनलाई आफ्नो घरमा लगिन् । आफ्नो अभिभावकलाई परिचित गराइन् । 

‘बिचरा केही बिपत्तिमा परेझै छन् । पाहुना हुन् ...!’

घरमा भएको खानेकुरा खान दिइन् र उसलाई सुत्न भनिन् । 

बिस्तारामा ढलेको धेरै बेरसम्म पनि चन्द्रमा ‘हँ हँ’ गर्दै काँप्दै थिए । यस्तो देखेर नजिक गएर छाम्दा उसको निधार सारै तातो अनि शरीर पसिनाले भिजेको थियो । किरीले चन्द्रमालाई पानीपट्टी लगाइदिइन् । 

केही क्षणमा चन्द्रमाको ज्वरो कम भयो तर ऊनी अझै थकितझै लाग्न थाले।
०००

यसरी कयौँ दिन बित्दै गयो । किरीले उसलाई हेरचाह गर्दै गइन। नजानिदै चन्द्रमा र किरी एक आपसमा नजिक हुन लागे । यो देखेर किरीका परिवार चिन्तित हुन थाले।

एक अपरिचित व्यक्तिसँग आफ्नो छोरी किरी यसरी हराएको देखेर चन्द्रमालाई हकार्न थाले परिवारले।

‘को हौ बाबु तिमी ? कहाँ जान हिँडेका थियौ ? अब तिमी आफ्नो बाटो लाग !’

किरीको परिवारको यस्तो आग्रहले चन्द्रमालाई दुःख लाग्यो । किरीलाई अंकमाल गर्दै चन्द्रमा भन्न थाले, ‘किरी तिमीले म अपरिचित माथि यति ठुलो गुण लगायौ, म तिम्रो यो गुणलाई एउटा परिचित मित्रको माया मानी मनमा लिएर जाँदैछु । मलाई बिदा देउm !’

यो सुनेर किरी अधैर्य भएर रुन लागिन् र भन्न थालिन्, ‘हे परदेशी तिमी त मेरो मनमा यसरी बसेका छौ कि अब म चाहेर पनि तिमीलाई एक्लै पठाउन सक्दिनँ। जाने भए मलाई पनि साथमा लिएर जाउm ...!’ 

किरी क्वाँक्वाती रुन थालिन् । उनको रुवाइको आवाजले उनका भ्यागुता साथीहरु जम्मा भए र सोध्न थाले, ‘किरी किरी किन रोएकी तिमी ?’

किरीको रुवाइ र भ्यागुताहरुको उपस्थितिले चन्द्रमालाई सारै पिर पर्यो । चन्द्रमा भन्न लागे, ‘किरी यो छोटो समयमा अनजान परिस्थितिले हामीलाई यो संघारमा खडा गराइदियो । म तिमीलाई सँगै लिएर जान पनि सक्दिनँ । तिम्रो साथमा सधैँ रहन पनि सक्दिन । तिमी कुरा बुझ ल !’

यतिबेला चन्द्रमाले आफू चन्द्रमा भएको बेलिबिस्तार लगाए । सबै कुरा सुन्दा पनि किरीले चन्द्रमाबिना आफ्नो प्राण त्याग गर्ने निर्णय सुनाइन् ।

यो सुनेर चन्द्रमा सारै विचलित भए । भन्न लागे ‘किरी म आफ्नो दैनिकीको अगाडि हार्नु भनेको तिम्रो र मेरो मायालाई हराउनु हो । त्यसैले म एउटा बाचा गर्छु सुन ।’

कुरा हुँदै गए । आकाशमा टहटह जून देखिए । चन्द्रमाले पनि भन्दै गए ।

‘यदि तिमी मैले भनेको कुरा मान्छौ भने म तिमीलाई साथमा राख्ने छु, मन्जुर छौ ?’ चन्द्रमाले आफ्नो हात किरीको सामुन्नेमा राख्दै भने ।

किरीले चन्द्रमाको अन्तिम शब्द ‘तिमीलाई साथमा राख्नेछु’ भनेको मात्र ध्यानमा राखिन् र केही मुस्कान र केही खुसीका साथ आफ्नो हात चन्द्रमाको हातमा राख्दै ‘मन्जूर छु’ भनिन् ।

कथाकार गजुरेल अधिकारी
०००

वातावरण एकाएक उमंगमय बन्दै गयो । भ्यागुताहरु पनि ठाडा कान लगाएर सुनिरहेका थिए । जूनेली रातमा अब केही कुरा हुँदै थियो । 

किरीको मञ्जुरी सुनेर चन्द्रमाले भन्न लागे, ‘हेर किरी, जसरी प्रत्येक बिहान सूर्यले आफ्नो उपस्थितिमा यो संसारलाई नयाँ बिहानीको अनुभूति गराउँछन, त्यसैगरी हरेक साँझ मैले आफ्नो उपस्थितिले रातको अनुभूति गराउने वरदान पाएका छौँ। त्यसैले मैले यो कार्य चाहेर पनि रोक्न सक्दिन । तिमीलाई छोडेर अब म पनि एक्लो रहन सक्दिन । तसर्थ हरेक पूर्णिमाको दिन बाहेक अरु दिन म आफ्नो आधारूप तिमीलाई नै छोडेर जानेछु । पूर्णिमाको एकदिन भने म आफ्नो पुरा रुप लिएर आकाशमा उदाउने छु ।’

जूनले यस्तो वचन के बोल्दै थिए, सारा भ्यागुता खुसीले उफ्रन थाले ।

‘एक छिन पख, कुरा सकिएको छैन,’ चन्द्रमाले भ्यागुताहरुलाई झपारे ।

‘पूर्णिमाको दिन आफ्नो पूरा रुप संसारलाई देखाउन मैले सकिन भने म भित्र पुनः अर्को खोट रहने छ । तसर्थ तिमीले अनी तिम्रा भ्यागुता साथीहरुले आफ्नो आबाजले गीत गाउँदै मलाई साथ दिनु पर्छ । ताकि एकदिन बिताउन पनि मलाई गार्हो नपरोस्।’

आफ्नी किरीको खुसीका लागि भ्यागुताहरु सबथोक गुमाउन तयार थिए । चन्द्रमाको यो कुरामा सही थाप्दै एकै स्वरमा ‘हुन्छ’ भनेर कराए ।

‘ट्वार ट्वार ...!’
 
चन्द्रमा फेरि भन्न थाले, ‘किरी म तिमीलाई आकाशबाट पहिचान गर्नको लागि आफु भित्रको उज्यालो अलिकति छोडेर जाँदैछु । साँझ परेपछि मलाई जगाउन आउनू । मलाई जिन्दगीमा साथ दिन्छौ नि हैन ?’

गम्भीर मुद्रामा उभिएकी किरीले चन्द्रमाको मुहार हेर्दै भनिन्, ‘हुन्छ, दिन्छु ।’

चन्द्रमा फेरि भन्दै गए, ‘हरेक साँझ तिमीले त्यो उज्यालो लिएर गाउँबस्तीमा गीत गाउनु पर्छ । बस्ती जगाउनु पर्छ । त्यही संगीत, र त्यही पिलपिल बत्ती र तिमीहरु सबैको धूनमा म आकाशमा रमाइ रहने छु,’ आँखाभरि आँशु पार्दै चन्द्रमाले भने । 

चन्द्रमाको यो कुराले हर्ष र विछोड दुवै भाव छचल्कियो किरीको मुहारमा । चन्द्रमो आँशु पुछ्दै किरी बोलिन्, 
‘आज यो धर्तीमा सबैले आफ्नो पहिचान भुलिसके । मानवता भुलिसके । तिमि आकाशको उज्यालो भएर पनि मजस्तो धर्तीको किरीसँग माया लगायौ । म तिमीलाई जन्म जन्म साथ दिनेछु । मेरो जून तिमी सधैँ खुसी रहू । हाँसेर जाऊ । म बिदा दिन्छु !’

क्षणभर सन्नाटा छाउँछ । भ्यागुताहरु पनि निराशझैं देखिए । किनकि उनीहरु आफ्नी प्यारी किरीको पियारो जूनसँग छुटिनु पर्ने घडी सम्झिरहेका थिए ।

साँझको मौनता चिर्दै किरीले फेरि गुनगुनाइन्, ‘सुन त चन्द्र, तिम्रो र मेरो यो प्रेम सारा मानिसहरुका लागि आशाको चिराग बनेर हरेक साँझ दियो जसरी जाग्ने छ । हामी हरेक अन्धकारमा पनि खुसी र उज्वल भविष्य छ भनेर दुनियाँको सेवा गर्ने छौं, है !’

जवाफमा चन्द्रमाले भने, ‘मैले पनि त त्यही चाहेको हुँ नि !’

‘लौ जोडी मिल्यो जूनकिरीको ... जोडी मिल्यो जूनकिरीको ... ट्वार ट्वार ... !’ भन्दै भ्यागुताहरु उफ्रन थाले ।

सोही दिनदेखि धर्तीमा जूनकिरीले साँझमा चिराग जगाउने गरेकी हुन् भनेर हाम्रा हजुरबाले भन्नुहुन्थ्यो । हजुरबाले भने अनुसार चन्द्रमाको आधा रुप किरीले ग्रहण गरेकी हुन् । तर, किरी पनि आफूभित्र रहेको चन्द्रमाको आधा शरीर भने लुकाउने प्रयत्न गर्छिन् । र, हरेक साँझ जब वर्षा ऋतु हुन्छ, शरद आउँछ, चन्द्रमालाई आकाशमा बादल ढाके पनि धर्तीमा चन्द्रमाको अभाव पूर्ति गछिन् किरीले ।

तिनी किरी आज जूनकिरीका नाउँले प्रख्यात छिन् ...! 
...

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको ... भन्दै रुप मिसले प्यारा भाइबहिनीहरुलाई यस्तो कथा सुनाइन् ।


०००

कथाकारः रूपा गजुरेल अधिकारी, आप्रशा, काठमाडौं ।



प्रकाशित: २०७६ चैत्र २२
April 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार