
निर्माण कम्पनीलाई पदक सहितको ‘उच्च’ सम्मान सुरु: ‘समयभित्रै गुणस्तरीय काम’ गरेकोमा सगुन कन्स्ट्रक्सनलाई ‘प्रदेश रत्न’
निर्माण सञ्चार, ११ असोज, काठमाडौं ।
पछिल्ला दिनमा सबैभन्दा बदनाम उद्योग कुनै छ भने त्यो निर्माण उद्योग नै हो । तर, अब दिन यस्ता पनि सुरु भएका छन्, अब सबैभन्दा इज्जतदार पेसा कुन बन्दैछ भन्ने कसैले प्रश्न गर्छ भने, त्यो पनि ‘कन्स्ट्रक्सन’ पेसा नै बन्दैछ भन्ने दिन सुरु भएका छन् ।
पेसाको सम्मान पेसाकर्मीले नै राख्ने हो भन्ने तथ्य उजागर गर्ने निर्माण क्षेत्रमै पहिलो पात्र बनेका छन् सहदेव खड्का ।
खड्काको सम्मान निर्माण क्षेत्रभित्र ‘मरुभूमिमा उद्यान/कुवा’ भन्दा महत्त्वपूर्ण साबित भएको छ ।
उनको सगुन कन्स्ट्रक्सनले शर्मा कन्स्ट्रक्सनसँग मिलेर चितवनस्थित रत्ननगर सहलगानी खानेपानी आयोजना तथा धनगढा सहलगानी खानेपानी आयोजनाको काम सम्पन्न गरेको छ । जुन निर्माण कार्य समयभन्दा ७ महिना अगावै सम्पन्न भएपछि राज्यले उनलाई ९५ लाख रुपियाँले सम्मान गरेको थियो । करिब ३० करोडको उक्त आयोजना २०७३ सालमा सम्झौता भएको सो निर्माण कार्य सम्झौता अनुसार २०७६ सम्ममा सक्नु पर्ने भन्ने थियो ।
मानिसहरु अझै पनि भन्छन्– ‘राम्रो काम गर्नेलाई राज्यले सम्मान दिने गरेको छैन । बदमासलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कृत गरेपो मुलुकमा समन्याय स्थापित हुन्छ ।’
हुनपनि तर्क सही हो । तर, सार्वजनिक खरिद ऐन, नियमावलीद्वारा नै सार्वजनिक कामको जिम्मा लिएबापत् समयमै र गुणस्तरीय काम गर्नेलाई सरकारले सम्मान स्वरुप ‘बोनस रकम’ले पुरस्कृत गर्दै आएको छ । निर्माण उद्योगमा विकृति धेरै भएकाले दुई–चार जनाले पाउने यस्ता पुरस्कारको कुनै गणना नै हुँदै भएन ।
जब, प्रदेश नम्बर ५ सरकारले संविधान दिवसका अवसरमा बुटवलका सहदेव खड्का (निर्माण व्यवसायी) लाई प्रदेश अन्तर्गत दिइने उच्च पदक ‘प्रदेश रत्नपदक ‘ख’ ले सम्मान गरेको निर्णय सार्वजनिक गर्यो, योसँगै निर्माण क्षेत्रलाई पनि राज्यले उच्च सम्मान दिन थालेको सन्देश सञ्चार भएको छ ।
निर्माण उद्योगमा प्रवेश गरेको मात्रै ११ वर्षमै उनलाई यो सम्मान प्राप्त भएको छ । जबकि, निर्माण उद्योगमा बाबुका पुस्तादेखि कन्ट्र्याक्टर बनेर राज्यको सेवा गर्ने अरु दर्जनौं निर्माण व्यवसायीहरु आज कोही बदनाम छन्, कसैले सरकारी कामहरुलाई उकुच पल्टेको घाउजस्तै क्रोनिक बनाएर आफू पनि टाट पल्टेका छन् भने मुलुकलाई पनि टाट पल्टाएका छन् ।
रुपन्देहीको शंकर नगर खानेपानी आयोजनाबाट २०६७ फागुन २१ गतेबाट यस उद्योगमा छिरेका खड्काले हालसम्म करिब ३ सय खानेपानी आयोजना निर्माण गरेका छन् । ती सबै नै समय अगावै सम्पन्न भएका छन् ।
खानेपानी आयोजना समयमै सम्पन्न गर्ने र बोनस खाने निर्माण कम्पनीमा सबैभन्दा पहिलो पनि उनी नै हुन् । उनको कम्पनी र ग्रुप भवन, सडक र पुलमा पनि ‘स्पेसलाइज्ड’ बनेको उनको दाबी छ ।
प्रदेश रत्नले सम्मानित उनलाई सत्तारुढ नेकपा निकट निर्माण व्यवसायी संगठनले आइतबार काठमाडौंमा सम्मान गरेको थियो ।
०००
प्रकाशित: २०७७ आश्विन ११
- खड्काको सम्मान निर्माण क्षेत्रभित्र ‘मरुभूमिमा उद्यान’ भन्दा महत्त्वपूर्ण साबित भएको छ



प्रकाशित: २०७७ आश्विन ११
September 27th 2020
प्रतिक्रिया दिनुहोस्