नेपाली समय: १२:५६:२१ am
वि.सं २०८१ चैत्र ३   सोमवार

भारतमा कोरोनाः २३९ को मृत्यु, संक्रमित नाघ्यो ७ हजार, लकडाउन अवधि थप्न मोदीलाई सुझाव

निर्माण सञ्चार, २९ चैत, काठमाडौं । घरनिर्मित मुकुण्डो (मास्क) लगाएर मुख्यमन्त्रीहरुसँग भिडियो मिटिङ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदेश चिफमिनिस्टरहरु सबैले लक डाउन अवधि थप गर्न सुझाव दिएका छन् ।

विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामै सबैभन्दा बढी प्रभावित बनेको भारतमा कोरोना (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । संक्रमितको संख्या पनि ७ हजार नाघि सकेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको सूचना अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४० जना मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै मानिसको ज्यान गएको महाराष्ट्रमा अहिलेसम्म १ सय १० जनाको मृत्यु भइसकेको छ भने मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतभर संक्रमितको पछिल्लो आँकडा भनेको ७ हजार ४ सय ४७ हो । पछिल्लो आँकडा अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित पनि महाराष्ट्रमै देखिएको छ ।

स्थानीय सञ्चार एजेन्सीहरुका अनुसार महाराष्ट्रमा मात्रै १ हजार ५ सय ७४ संक्रमित देखिएका छन् । त्यसपछि तामिलनाडुमा ९ सय ११ र दिल्लीमा संक्रमितको संख्या ९ सय ३ रहेको छ ।


भारतभर आजका दिनसम्म ६ सय ४२ संक्रमित भएकाहरु निको भएर घर फर्किसकेका छन् ।

 

०००
 



प्रकाशित: २०७६ चैत्र २९
April 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार