भारतमा आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएः तर मोदी सरकार लकडाउन खुकुलो पार्दै
निर्माण सञ्चार, २९ वैशाख, एजेन्सी । छिमेकी भारतमा एकै दिनमा आजसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ नयाँ संक्रमित भेटिएका हुन् ।
सोही अवधिमा संक्रमणबाट मर्नेको संख्या पनि ९७ रहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडा (सोमबार बिहान ८ बजेसम्मको) अनुसार भारतमा कोरोना भाइरस संक्रमितहरुको कुल संख्या ६७ हजार १ सय ५२ पुगिसकेको छ।
कोरोना संक्रमणका कारण आजसम्म २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् भने २० हजार ९ सय १६ जना संक्रमित निको भएर घर फर्केका छन्।
महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु क्रमशः संक्रमित बढी हुने राज्य रहेका छन् । महाराष्ट्र सबैभन्दा बढी संक्रमितहरुको राज्य बन्न पुगेको छ ।
लकडाउन खुकुलो बनाउन सुझाव
भारतमा दिनानुदिन कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहे तापनि प्रधानमन्त्री मोदीलाई लकडाउन खुकुलो पार्न सुझावहरु आइरहेका छन् ।
भारतले जारी गरेको दोस्रो चरणको लकडाउन सकिदै गर्दा लकडाउन खुकुलो पार्न मुख्यमन्त्रीहरुको सुझाव छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनबारे अबको रणनीति र अर्थव्यवस्थालाई कसरी अगाडि लैजाने बारे आउने १७ तारिकमा मुख्यमन्त्रीहरू मिटिङ गर्ने भएका छन् ।
०००
प्रकाशित: २०७७ बैशाख २९
प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020
प्रतिक्रिया दिनुहोस्