नेपाली समय: ०१:५९:१५ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’

निर्माण सञ्चार, १ जेठ, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने सम्मको चेतावनी दिएको छ ।

आजको विश्वमा धेरै वैज्ञानिक तथा विशेषज्ञ खोजकर्ताहरु कोरोना भाइरस विरुद्धको प्रतिरोधी खोप आविष्कारका लागि लागिरहेका छन् तापनि, त्यस्ता खोपहरु समेत बनाउन लामो समय लाग्न सक्ने वा गरिएका प्रयोग र प्रयासहरु पनि असफल हुन सक्ने आशंका पनि डब्ल्युएचओले गरेको छ । 

डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले यदि खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास र समय आवश्यक हुने बताए ।

अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर करिब ३ लाख मानिसको मृत्यु भइसकेको छ । ४४ लाख बढी मानिस संक्रमित छन् ।

रयानका अनुसार, आममानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न अझै वर्षौं लाग्न सक्छ । 

अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन विशेषज्ञहरु लागिपरिरहेका छन् । विभिन्न ठाउँमा कोरोना प्रतिरोधी खोप निर्माणका प्रयासहरू भइरहेका छन् । 

विशेषज्ञहरु जुन प्रयास गरिरहेका छन्, खोपको निर्माण हुन नसक्ने आशंका समेत व्यक्त गरेका छन् ।

पछिल्ला दिनमा विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै आएका छन् तर डब्ल्यूएचओले लकडाउन खुकुलो पार्नु अर्काे चुनौती हुनसक्ने बताएका थिए । 

संगठनका प्रमुख टेड्रोस गेब्रेयेसले केही दिन अघि मात्रै लकडाउन खुकुलो पार्दा कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका थिए । 

डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिइरहेको छ ।

विश्व स्वास्थ्य संगठनकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर आउन निकै लामो समय लाग्ने मनस्थिति बनाएर अघि बढ्नुपर्ने बताएकी छन् ।

स्रोतः बिबिसी

 

०००



प्रकाशित: २०७७ जेठ १
May 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार