नेपाली समय: ०३:१२:२३ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

‘कोरोना नियन्त्रण पछि नेपाली स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्ने छ’, भिडियो कन्फरेन्सको स्पष्ट सन्देश- ‘लकडाउन तत्काल हट्तैन’

निर्माण सञ्चार, २९ चैत ०७६, काठमाडौं । विश्वमहामारी खेपिरहेको नेपालले पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लक–डाउन जनताको जीवन रक्षाका लागि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । 

शनिबार सातै प्रदेशका प्रदेश प्रमुखहरु सहितको भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन कोरोना नियन्त्रण नभई अन्त्य नगरिने बताएका छन्।

भिडियो कन्फरेन्स सिंहदरबारस्थित प्रधानमन्त्रीको एक्सन रूमबाट भएको थियो । 

उक्त भिडियो संवादमा प्रधानमन्त्री ओलीले नेपाल–भारतका सीमानाकामा अझै कडाइ गर्न पनि निर्देशन दिएका छन् ।

यतिबेला भारतमा कोरोना संक्रमितको दर बढिरहेको सन्दर्भमा नेपालमा लकडाउन तत्काल हटाउँछु भन्नु भावुक कुरा भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि प्रधानमन्त्रीले सबैलाई सचेत गराएका छन् ।

‘लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने’ थापाले उल्लखे गरेका छन् ।

‘भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबै प्रदेशले भूमिका खेल्नु पर्ने प्रधानमन्त्रीको अनुरोध छ ।

उनले कोरोना विरुद्ध सबै जनता सचेत हुन आह्वान समेत गरेका छन्। 

छलफलमा प्रम ओलीले कोरोनाबाट बच्न स्थानीय जनतालाई सचेत गराउनु पर्ने भन्दै आफ्नो फोकस केन्द्रित गरेका थिए ।

उनले सरसफाइमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि सम्बन्धित प्रदेश सरकारसँग आग्रह गरेका छन्।

सो छलफलमा प्रम ओलीले मुख्यमन्त्रीहरुले आआफ्नो प्रदेशमा कोरोना नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका थिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढाउन जरूरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आहिलेको अवस्थामा सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सरकार प्रभावकारी र सफल रूपमा कोरोना नियन्त्रणको काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि सबैमा अनुरोध गरेका छन्।

भिन्न संयन्त्रको आवश्यकता छैन

सरकार भन्दा बाहिर कोरोना नियन्त्रणका लागि भिन्नै संयन्त्र बनाउनु पर्ने भन्ने हल्ला चलिरहेकै बेला प्रधानमन्त्री ओलीले यतिबेला सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको पनि प्रष्ट पारेका छन् ।

प्रमले सरकार स्वयम् नै ‘अथोरिटी’ रहेको तर संयन्त्रका नाउँमा घरमै बसी सरकारलाई निर्देशन दिएजस्तो गर्न, सरकारले गरेको कामको आफूले जस लिने वा बहानाबाजी गरी सरकारकै काममा अवरोध सिर्जना गर्ने काम नगर्न पनि अनुरोध गरेका छन् ।

कोरोना नियन्त्रण गरिसक्दा मुलुकले स्वाथ्यक्षेत्रमा गुणात्मक फड्को मार्ने छ’

प्रम ओलीले सो छलफलमा कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दा  मुलुकको स्वास्थ्य उपचारको क्षेत्रमा गुणात्मक फड्को मार्ने पनि बताए ।

प्रमको भनाइ छ, ‘त्यतिबेलासम्म मुलुकका सबैजसो अस्पतालमा नयाँ प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने हुने छ ।’


०००
 



प्रकाशित: २०७६ चैत्र २९
April 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार