नेपाली समय: १२:१०:४३ am
वि.सं २०८१ चैत्र ३   सोमवार

विश्वका आधा बढी मानिस घरभित्रै थुन्ने कोरोनाः स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक, खोपबिना रोक्न सकिदैनः डब्लुएचओ

निर्माण सञ्चार, २ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणको पूर्ण उन्मूलनका लागि प्रभावकारी भ्याक्सिनको आवश्यकता रहेको बताएको छ ।

भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण रोक्न कठिन हुने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् ।

अध्ययनले कोरोना भाइरस स्वाइनफ्लु भन्दा पनि १० गुणा बढी खतरनाक रहेको पुष्टि भएको बताउँदै यसलाई रोक्न प्रभावकारी खोप जरुरी छ उनले भने ।

उनले भने, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक छ ।’

  • कोरोनाको महामारी पूर्णरुपमा हटाउन प्रभावकारी खोप तत्कालै आवश्यक छ– डब्लुएचओ 
     
सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन १) बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । 

तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आकलन गरेको थियो । 

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो । 

सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखापरेको थियो । 

चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको अवस्था छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने विभिन्न अनुमान छन् ।

तर, यो प्रभावकारी र विश्वसनीय पनि होइन ।

आजका दिनमा विश्वको आधाभन्दा बढी मानिस घरभित्रै थुनिरहेको अवस्था छ । डब्लुएचओ भन्छ,  तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्छ । 

उनीहरुको अध्ययनमा कोभिड–१९ जति छिटो फैलिएको थियो, नियन्त्रण भने निकै सुस्त गतिमा भइरहेको छ ।

डब्ल्यूएचओको निष्कर्ष अनुसार त्यसैले यसलाई एकैपटक नियन्त्रण गर्न सकिदैन । र, यसको पूर्ण उन्मूलनका लागि प्रभावकारी खोप नै चाहिन्छ ।

डा गेब्रियससले सही समय नआउँदासम्म सामाजिक दूरी कडाइको नियम जारी राख्नुपर्ने बताए ।


०००



प्रकाशित: २०७७ बैशाख २
April 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार