नेपाली समय: ०१:१७:३६ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

चीनको घोषणाः ‘डब्ल्युएचओलाई थप ३ करोड डलर दिइने छ’

निर्माण सञ्चार, ११ वैशाख ०७७, काठमाडौं । अमेरिकाले दिदै आएको आर्थिक सहयोग कटौती गरेकै बेला चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ ।

यस अघि नै अमेरिकाले डब्ल्युएचओलाई दिने सहयोग नदिने निर्णय गरेको थियो । अमेरिकाले डब्ल्युएचओले कोरोना महामारी नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो ।

अमेरिकी असहयोग निर्णयको २ हप्ता नपुग्दै चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँ जित्नका लागि यो सहयोग दिएको बताएको हो ।

चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै २ करोड डलर सहयोग गरिएकोमा अहिलेको ३ करोड डलर थप सहयोग दिन लागिएको बताएका छन् । 

चीनले यस सहयोगले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन थप टेवा मिल्ने विश्वास लिएको छ ।

अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई पक्षपात गरेको आरोप लागाएका थिए । 

उनका अनुसार वार्षिक रुपमा अमेरिकामा कर तिर्ने मानिसहरुले डब्ल्यूएचओलाई ४० देखि ५० करोड डलर दिँदै आएका छन् । चीनले भने केवल चार करोड डलर मात्र सहयोग गर्दै आएको छ ।

कोरोना विश्वमहामारी प्रकरणमा ट्रम्पले डब्ल्यूएचओ माथि नै गम्भीर आरोपहरु लगाएका छन् । उनले डब्ल्युएचओले समयमै सूचित गरेको थियो भने धेरै मानिसलाई मृत्यु हुनबाट बचाउन सकिने तर्क गर्दै आएका थिए । 

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस सबैभन्दा पहिला चीनको वुहानमा देखिएको थियो । 

विश्वमहामारी मानव जातिका लागि जुद्ध्नु पर्ने चुनौती रहेको भन्दै चीनले अमेरिकालगायत विश्वका सबै मुलुकहरुलाई डब्ल्यूएचओलाई सहयोग गर्न आग्रह गर्दै आइरहेको छ ।

चीनले विश्वमहामारीको विषयमा वास्तविक तथ्यांक लुकाएको पश्चिमा मुलुकको आरोपलाई अस्वीकार गर्दै आएको छ । 

चीनले डब्ल्यूएचओले कसैलाई पक्षपात नगरेको धारणा राख्दै पनि आएको छ । हिजै मात्र पनि डब्ल्युएचओले अमेरिकाले गरेको निर्णयलाई सच्याउन पुनः अपिल गरेको थियो । 

 

स्रोतः एएफपी

०००
 

 

 

 



प्रकाशित: २०७७ बैशाख ११
April 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार