रोल्पामा बम विष्फोट, बाख्रा चराउन गएका ४ बालबालिकाको मृत्यु !
निर्माण सञ्चार, १८ वैशाख, काठमाडौं । रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले यस घटनाबारे पुष्टि गरेका हुन्।
जिल्लास्थित त्रिवेणी गाउँपालिका वडा नं–७ गैरीगाउँमा उक्त बम विष्फोट भएको हो ।
‘बाख्रा चराउन गएका बालबालिकाले बुधबार बेलुका नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको प्रारम्भिक सूचना छ,’ डिएसपी गुरुङले जानकारी दिए ।
डिएसपी गुरुङले थपे, ‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको रहेनछ । उक्त घटनामा परेर ४ बालबालिकाको मृत्यु भएको छ ।’
मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी गुरुङले जानकारी दिए ।
जिप्रका अनुसार उक्त घटनास्थलमा चार बालबालिका रहेका र चारै जनाको दुखद निधन भएको हो ।
०००
प्रकाशित: २०७७ बैशाख १८
०००
प्रकाशित: २०७७ बैशाख १८
April 30th 2020
प्रतिक्रिया दिनुहोस्