नेपाली समय: ०६:०४:५१ बिहान
वि.सं २०७७ कार्तिक ८   शनिवार

कन्स्ट्रक्सन उद्योगमा कोरोना असरः सरकार काम गर भन्छ, गृहले दिँदैन पास, ‘लेबर’ गाउँमा बस्नै नपाएपछि कसरी हुन्छ काम ?

निर्माण सञ्चार, १ जेठ, काठमाडौं । 

नेपाल निर्माण व्यवसायी महासंघले विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाइरस (कोभिड–१९) का कारण २०७७ कात्तिक मसान्त सम्म निर्माण कार्यहरु अगाडि बढाउन नसकिने जनाएको छ । 

महासंघ स्थायी समितिको बिहीबारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा कोराना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण कार्य गर्न नसकिने उल्लेख छ । 

महासंघले २०७६ चैत्र देखि २०७७ कात्र्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ । 

  • महासंघले स्पष्ट शब्दमा नेपाल सरकारबाट आवश्यक स्पष्ट नीतिगत निर्णयको अपेक्षा गरेको छ । यस्तो अवधिमा निर्माण कार्य नगर्न नगराउने भन्दा नै बढी उपयुक्त देखिन्छ
व्यवसायीहरुले लकडाउनको असहज परिस्थितिबीच पनि केही निर्माण स्थलमा सिमित जनशक्ति, निर्माण सामग्री र उपकरणहरु पु¥याएको महासंघले जनाएको छ ।  

थप जनशक्ति र उपकरणहरु पु¥याउने तयारीमा रहेको अवस्थामा असहज आवागमनका कारण आयोजनाहरुको निर्माण कार्यको निरन्तरता हुन नसक्ने महासंघको विज्ञप्तिमा उल्लेख छ । 

जटिल परिस्थितिबीच त्यस्ता आयोजनाहरुलाई निरन्तरता दिएमा पनि आयोजनाको लागत अत्याधिक थप हुन गई साविकको लागतमा कार्य सम्पन्न गर्न नसकिने देखिएको हुँदा थप लागत समावेश गर्न र ती आयोजनाहरुको कार्य हुन नसकेको अवधिको ओभरहेड स्वतः समावेश गरिदिने व्यवस्थाका लागि महासंघले अनुरोध गरेको छ ।

महासंघ स्थायी समितिको बिहीबार बसको आकस्मिक बैठक, तस्वीर स्रोत एफक्यान सचिवालय
विकास निर्माणका कार्यहरुको निरन्तरताको लागि राज्यका संयन्त्रहरु बीच स्पष्ट र प्रभावकारी समन्वय सहित स्पष्ट नीति निर्देशन जरुरी रहेको महासंघको ठहर छ । 
 

गृहले दिदैन पासः लेबर गाउँ जानै सक्तैनन् 

हरेक जिल्लाहरु सिल गर्न थालिएपछि आन्तरिक रुपमा कामदार वा व्यवसायी पनि आवतजावत गर्न नसक्ने अवस्थामा पुगेका छन् । 

यदि निर्माण कार्य हुने स्थल (लोकल एरिया) गाउँमा कुनै कामदार गयो भने, गाउँलेहरुले नै उसलाई गाउँबाट निकालिदिने वा फर्कन आग्रह गर्ने अवस्थाले गर्दा कामदार बेगर निर्माण कार्य सम्पन्न गर्न कठिनाइ उत्पन्न भएको निर्माण व्यवसायीहरुको भनाइ छ ।

पहिला कोरोना रोकौं, पछि बनाउँला मुलुक !

‘बरु, सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामकै लागि हामीले सहयोग गर्ने सोच अघि सारेका छौं,’ महासचिव रोशन दाहालले भने, ‘काम गर्न जाँदा झन् कोरोना चुनौती बढ्ने देखियो, अर्काे तिर काम गर्ने सहज वातावरण नै बन्न सकेन । सामान ढुवानीदेखि आन्तरिक आवतजावतमै समस्या भएपछि हामीले मात्र कसरी काम गर्न सक्छा ?’

  • वर्षा बढेसँगै कोरोना संक्रमण अनुपात पनि ह्वात्तै बढिरहेकाले दुवै कुराको रिस्क बढिरहेको अवस्था छ
एकातिर केही सार्वजनिक निकायहरुले लकडाउन कायमै रहेको समयमा निर्माण व्यवसायीहरुलाई कामको निरन्तरताका लागि पत्राचार गर्ने गरेको तर गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सवारी पासहरु रद्द गरिसकेकाले निर्माण कार्यका लागि वातावरण नबनेको एफक्यानको भनाइ छ ।

काम गर्ने वातावरण छैन, त्यसैले काम नगर्ने निर्देशन नै देऊ !

कोरोनाको महामारी फैलिएसँगै श्रमिक, प्राविधिक र अन्य जनशक्ति आ–आफ्नो घर तर्फ गई खेतीपातीको काममा व्यस्त भैसकेका र दशैं तिहार, छठ चाडपर्व अगाडिसम्म श्रमिकहरु काममा फर्कन नसक्ने अवस्था छ ।

अर्काेतिर, निर्माण सामग्री सप्लायर्सहरु बन्द हुने, नेपालमा प्रयोग हुने अधिकांश निर्माण समाग्री (ढुंगागिट्टी, बालुवा, सिमेन्ट बाहेक) का कच्चा पदार्थहरु भारत, चीन लगायतका अन्य देशहरुबाट आयात हुने गरेको हुँदा ती समाग्रीहरु आयात गर्ने उपयुक्त वातावरण नबनेसम्म विकास निर्माणका काम गर्न नसकिने परिस्थिति रहेकाले सरकारले पनि कात्तिकसम्म नै काम गर्न नसकिनेबार स्पष्ट शब्दमा निर्देशन दिए राम्रो हुने निर्माण व्यवसायीको माग छ । 

  • गएका डेढ महिनामा नदी नियन्त्रण तथा नदीजन्य निर्माण कार्यहरुमा भने निर्माण व्यवसायीहरु येनकेन प्रकारेण काम गरेको देखियो । सरकारले पनि आउने वर्षालाई ध्यान दिदै नदी नियन्त्रणका कामहरु नरोक्न भनिरहेको अवस्था छ
महामारीमा महामारीको रिस्क लिन नसक्ने अवस्था सिर्जना हुँदै गएकाले बरु सरकारले नै निश्चित समयसम्म निर्माण कार्य रोक्न आदेश दिनु पर्ने उनीहरु बताउँछन् । 

‘किनकि, फिल्डमा काम गर्दा एकअर्काेमा कोरोना महामारी संक्रमण हुने देखियो, रिस्क मोल्न कसैले सक्ने पनि भएन । बरु, सरकारले यस्तो बेलामा सोच्नै पर्ने देखिन्छ’, एफक्यान स्थायी समिति सदस्य प्रमोद लामिछानेले भने, ‘यो बेला महामारीसँग जुद्धने हो, सबैले एकढिक्का भएर जुद्ध्नु पर्ने बेला निर्माण व्यवसायीहरु बरु सरकारलाई साथ दिन तत्पर छौं । यसो गर्दा कसो होला ?’

एफक्यान अनुसार परिस्थिति विषम बन्दै गएको र कोभिड–१९ नियन्त्रण भन्दा बाहिर जाने देखिएकाले सबैका मनमा त्रास उत्पन्न भइरहेको छ ।

यस्तो बेला कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित पूर्वाधार निर्माणका कार्यहरु बाहेक विकास निर्माणसँग सम्बन्धित सम्पूर्ण कार्यहरुको निरन्तरता दिन नसकिने उनीहरु बताउँछन् । 

महासंघले स्पष्ट शब्दमा नेपाल सरकारबाट आवश्यक स्पष्ट नीतिगत निर्णयको अपेक्षा गरेको छ । यस्तो अवधिमा निर्माण कार्य नगर्न नगराउने भन्दा नै बढी उपयुक्त देखिन्छ ।

गएका डेढ महिनामा नदी नियन्त्रण तथा नदीजन्य निर्माण कार्यहरुमा भने निर्माण व्यवसायीहरु येनकेन प्रकारेण काम गरेको देखियो । सरकारले पनि आउने वर्षालाई ध्यान दिदै नदी नियन्त्रणका कामहरु नरोक्न भनिरहेको अवस्था छ । 

वर्षा बढेसँगै कोरोना संक्रमण अनुपात पनि ह्वात्तै बढिरहेकाले दुवै कुराको रिस्क बढिरहेको अवस्था छ ।

०००
 



प्रकाशित: २०७७ जेठ १
May 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार