
एफक्यान महाधिवेशनः अध्यक्ष, महासचिव र कोषाध्यक्षमा पुरानैको पुनरागमन !
निर्माण सञ्चार, ३० फागुन, ०७८, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को १२ औं महाधिवेशनबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता महत्त्वपूर्ण पदमा पुरानै नेतृत्वको पुनरागमन भएको छ । निर्माण व्यवसायीहरु सबैमा समान समृद्धिको नारा लिएर मैदानमा उत्रिएका निकोलस पाण्डे भने अध्यक्ष रवि सिंहसँग पराजित भएका छन् ।
एफक्यान निर्वाचन समितिका अनुसार अध्यक्षमा रवि सिंहले ७ सय ६५ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३ सय ३७ मत पाउन सफल भएका छन् । विजयी सिंह महादेव खिम्ती निर्माण सेवाका प्रोप्राइटर हुन् ।
त्रिपक्षीय भिडन्त भएकोका अध्यक्ष पदका अर्का प्रतिद्वन्द्वी हुमनाथ कोइरालाले मात्र ३२ मत ल्याउन सफल भएका छन् । उनले यस अघि पनि ‘विद्रोही’ पाराले उम्मेदवार दिँदा हारेका थिए । यसपटक पनि उनले पराजयलाई नै दोहोराएका छन् । बिकोइ बिल्डर्सका मालिक कोइराला महासंघ चुनावमा मात्र देखिने अघिपछि हराउने मुहारका रुपमा चिनिन्छन् ।
यस पटकको समीकरणमा महासचिव पदमा रोशन दाहालले नै बाजी मारेका छन् । दहालले ७ सय १९ मत पाउन सफल भएका छन् । यस अघि पनि उनी महासंघका महासचिव नै थिए । अध्यक्ष सिंहकै प्यानलबाट महासचिव बनेका थिए ।
पदाधिकारीमध्ये कोषाध्यक्ष पदमा पनि पुरानै नेतृत्वको पुनरागमन भएको छ । यसअघि पनि अध्यक्ष सिंहकै प्यानलबाट कोषाध्यक्ष विजयी हिरनकुमार श्रेष्ठले यस पटक भने निवर्तमान वरिष्ठ उपाध्यक्ष पाण्डेको टिमबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा जसलाई निर्माण व्यवसायीहरु एडी लामाका नामबाट पनि चिन्दछन्– ले ५ सय ६३ मत पाएर जितेका छन् ।
उपाध्यक्षहरुमा टोपबहादुर रायमाझी र रामजी पन्त ‘मुकेश’ले (नयाँ मुहारका रुपमा) जित हात पारेका छन् । उपमहासचिवमा शिवहरि घिमिरे र नरहरि थपलिया विजयी भएका छन्। थपलिया यस अघि पनि उपमहासचिव नै थिए ।
त्यस्तै, सहकोषाध्यक्षमा सन्तोष साह नयाँ मुहारका रुपमा विजयी भएका छन्। पदाधिकारी मध्ये धेरै मुहार एसोसिएटबाट गएकैहरु विजेता बनेका छन् । महासंघको वागमती प्रदेशको उपाध्यक्षमा च्याङमिला कन्ट्रक्सनका सञ्चालक बालकृष्ण थापाले जित हात पारेका छन् । थापाले लामा कन्ट्रक्सनका लागि पञ्चराम तामाङलाई पराजित गरेका हुन् ।
वरिष्ठ, एसोसिएट, प्रदेश गरी ९ उपाध्यक्ष, दुई उपमहासचिव र सहकोषाध्यक्ष सहित महासंघ पदाधिकारीहरु १५ सदस्यीय रहने व्यवस्था छ । यो निर्वाचनबाट ५५ सदस्यीय केन्द्रीय समिति समेत निर्वाचित भएका छन् ।

०००
प्रकाशित: २०७८ फाल्गुण ३०

०००
प्रकाशित: २०७८ फाल्गुण ३०
March 14th 2022
प्रतिक्रिया दिनुहोस्