एफक्यान महाधिवेशनः ‘ठुला’ धेरै एसोसिएटबाटै प्रतिनिधि, एसोसिएटमा सर्वसम्मत चयनले महासंघमा दियो एकताको सन्देश !
निर्माण सञ्चार, २० फागुन, २०७८, काठमाडौं ।
सँघारमै टेकिसकेको नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा एफक्यान एसोसिएटका तर्फबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । महासंघ कार्यालयमा आज शुक्रबार भएको करिब ८ घण्टे माथापच्ची पछि ३९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन् ।
महासंघका लागि २३औँ साधारणसभा तथा १२ औँ महाधिवेशन निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार आवश्यक ३९ संख्याभन्दा बढी ५८ जनाले महाधिवेशन प्रतिनिधिका लागि दाबी गरेका थिए । त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले २० गतेका लागि निर्वाचनको मिति तोकेको थियो ।
महासंघको निर्वाचन नियमावली, २०७५ को नियम ८(१२) बमोजिम २३औं साधारण सभाको एशोसियट प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।
निर्वाचनभन्दा एकताको सन्देश दिने गरी पहल गर्ने भन्दै गठित समितिले २० गते बिहान १० बजेदेखि थालेको गृहकार्यले अन्ततः सहमतिको आकार ग्रहण गरेको थियो ।
एसोसिएट तर्फको प्रतिनिधि चयन विगतभन्दा अहिले एकताको सन्देश दिन सफल भएको देखिन्छ । नयाँ नेतृत्व चयन समेत गरिने २३ औँ साधारण सभाको मुखैमा भएको एसोसिएट तर्फको सर्वसम्मतिले एकताको सन्देश दिएको छ । एसोसिएट सदस्यकै रुपमा रहेका अधिकांश ‘ठुला’ भनिने निर्माण व्यवसायी अगुवाहरु पनि एसोसिएटबाटै प्रतिनिधि भएका छन् ।
अन्य व्यावसायिक संस्थाभन्दा भिन्नै विशेषता भएको निर्माण व्यवसायी महासंघको नेतृत्व कसको हातमा जाला भन्ने चर्चा चुलिदै गएका बेला भावी पदाधिकारीमा चयन हुनसक्ने अनुहारहरु यसैबाट प्रतिनिधि बनेका छन् ।
०००
प्रकाशित: २०७८ फाल्गुण २०
कोको भए निर्विरोध प्रतिनिधि ?
एशोसियट तर्फबाट निर्विरोध प्रतिनिधि चयन हुनेमा महासंघका वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे सहित पूर्वअध्यक्षद्वय रमेश शर्मा र जयराम लामिछाने, पूर्व नीतिगत उपमहासचिव विष्णु बुढाथोकी थप सदस्यहरु प्रतिनिधि चयन भएका हुन् । त्यस्तै-- रामप्रसाद मैनाली, टोपबहादुर श्रेष्ठ, शिवहरि घिमिरे, टंक प्रसाद चौलागाई, कुमार श्रेष्ठ, सुशीलकुमार श्रेष्ठ, नरहरि थपलिया, एनसी शेर्पा, उज्जवल गौतम, विनोद भट्टराई, रमेश बहादुर अधिकारी, रेवन्त बस्नेत, खडक बहादुर बुढाथोकी, लालकाजी अकेला गुभाजु, गेल्जे लामा, भद्र बहादुर शाही, लक्ष्मी बस्नेत कार्की, गेल्जे लामा, आङदोर्जे (एडी) लामा, रामजी पन्त मुकेश, भाइराजा श्रेष्ठ, अनिल सिलवाल, दिनेश रिजाल, राजेन्द्र मानन्धर, पशुपति भट्टराई, शिवशक्ति, मोहन कार्की, रामकुमार थापा, सुमन सुवेदी, नन्द कुमार राजभण्डारी, विष्णुभाइ श्रेष्ठ, यक्षध्वज कार्की, कुमारध्वज कार्की, सोम प्रकाश प्रसाई, अच्युत प्रसाद खरेल, कृष्ण बहादुर लामा रहेका छन् । एफक्यानको २३ औँ साधारणसभा तथा १२औँ महाधिवेशन यही फागुन २७ र २८ गते काठमाडौंमा हुने तयारी छ ।०००
प्रकाशित: २०७८ फाल्गुण २०
March 4th 2022
प्रतिक्रिया दिनुहोस्