नेपाली समय: ०९:३८:४९ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

कोरोना विरुद्ध लड्न एडिबीले दियो नेपाललाई ३० अर्ब ऋण

निर्माण सञ्चार, १३ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एबिबी) ले कोरोना भाइरस विरुद्धको लडाइँका लागि नेपाल सरकारलाई ऋण सहयोग गरेको छ ।

उसले नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपियाँ) ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको हो । 

एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको अर्थमन्त्रालय स्रोतले जनाएको हो ।

एडिबीले जनाए अनुसार सरकारले उक्त रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा खर्च हुने छ ।

स्मरणरहोस्, यस अघि एडिबीले कोभिडसँग जुध्न १३ अप्रिलमा २० अर्ब डलरको सहायता घोषणा गरेको पनि थियो ।

एडिबी अनुसार उक्त रकम ‘कोभिड १९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रम अन्तर्गत नेपालले समेत २५ करोड डलर ऋण सहायता पाएको’ उल्लेख छ ।

एडिबीले जनाए अनुसार यस कार्यक्रम अन्तर्गत नेपाल सरकारले सातै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टाइन निर्माण गर्न र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने क्षमता बन्ने छ । 

त्यस्तै, यस अघि पनि एडिबीले युनिसेफ आदि माध्यमबाट नेपाललाई ३ लाख अमेरिकी डलर जतिको अनुदान सहयोग दिएको थियो । 

कोरोना विरुद्ध नियन्त्रण तथा रोकथामका लागि सरकारले उक्त रकम स्वास्थ्य उपकरण खरिदमा खर्च गरेको जनाएको छ ।

०००



प्रकाशित: २०७७ जेठ १३
May 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार