विधान सम्मेलनपछि पहिलो सम्बोधन गर्दै केपी ओलीः लामो अन्तरालपछि ‘जाग्यो’ बुद्धिजीवी परिषद् !
निर्माण सञ्चार, २१ असोज, ०७८, काठमाडौं ।
लामो अन्तरालपछि पुनर्जीवन धारण गर्दै नेकपा एमालेको ‘पोलिसि–ब्रेन’ भनेर चिनिने बुद्धिजीवी परिषद् आफ्नो ‘बृहत् राष्ट्रिय भेला तथा केन्द्रीय समितिको पूर्ण वैठक’मा जुटेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा यही असोज २२ र २३ गते गरी २ दिनसम्म चल्ने सो भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको परिषद्का अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले जानकारी दिएका हुन् ।
केही दिनअघि मात्रै पहिलो विधान सम्मेलन सम्पन्न गरेर राष्ट्रव्यापीरुपमा शक्तिशाली सन्देश दिन सफल रहेको एमाले ०७५ जेठ २ मा फर्केपछि नयाँ उभारसाथ गतिशील भएको टिप्पणीहरु आउन थालेको छ ।
३ दिनसम्म चलेको गोदावरी प्रथम विधान सम्मेलनपछि अध्यक्ष ओलीको पहिलो सम्बोधन बन्ने भएको छ बुद्धिजीवीहरुको उक्त राष्ट्रिय भेलालाई गर्ने सम्बोधन ।
आफू नेतृत्वको सरकार विरुद्ध इतर खेमाका ‘केही’ बुद्धिजीवीहरु सिंगो नेकपा फुटाउन र सरकार ढाल्ने खेलमा खुलेआम लागेको सबैले देखेकै कटु सत्य हो । कम्युनिस्ट शक्ति सत्तामा त्यो पनि दुई तिहाइ निकट भएको देख्न नसकेकाहरुले कम्युनिस्ट विभाजनका लागि पर्दा पछाडिबाट समेत अदृश्य खेल खेलेको भन्ने टीकाटिप्पणी सेलाउन नपाउँदै आफ्नो राष्ट्रिय भेला आयोजना गरेको एमाले निकट बुद्धिजीवीहरुले आगामी दिनमा पार्टीलाई अघि बढाउन के–कस्तो ‘ब्रेन’ दिएर सघाउँछन् त्यो भने प्रतीक्षाको विषय हो तर, उक्त राष्ट्रिय भेला पार्टीको गतिमा थप टेवा दिनकै लागि आयोजना गरिएको आयोजक परिषद्को दाबी छ ।
भेलामा एमाले मोर्चा संगठन प्रमुख नेताहरु गोकर्ण बिष्ट, टोपबहादुर रायमाझी लगायत सरिक हुने कार्यक्रम रहेको छ ।
मुलुकलाई नै मार्गनिर्देश गर्ने राष्ट्रिय योजना आयोगदेखि सिंगो अर्थतन्त्र/अर्थनीतिलाई समेत ‘गाइडलाइन’ दिने ल्याकत राख्ने व्यक्तित्वहरु संगठित यो परिषद्लाई एमालेजनहरु ‘पोलिसि–ब्रेन’ का नाउँले पनि सम्बोधन गर्ने गर्छन् ।
०००
प्रकाशित: २०७८ आश्विन २१
प्रकाशित: २०७८ आश्विन २१
October 7th 2021
प्रतिक्रिया दिनुहोस्