नेपाली समय: ०१:३३:३० बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

‘तिज र पर्वहरु मनाउनेबारे बहसः नारीहरु अझै सजग र सचेत हुनु पर्ने हो कि !

निर्माण सञ्चार, ७ भदौ, ०७७ । 

अक्सर, हाम्रो समाजमा धार्मिक सांस्कृतिक पाटोको जिम्मा नै महिलालाई लगाए जस्तो देखिन्छ । धेरैजसो पर्वहरु महिलाले नै धानेको देखिन्छ । आखिर महिला र यस्ता पर्वहरुका बीचमा के कस्तो मनोवैज्ञानिक सम्बन्ध रहेको हुन्छ ?

भन्ने कोणबाट पनि अध्ययन भएका छन् । तर, के सबै धार्मिक तथा सांस्कृतिक उत्सवको बिँडो महिलाहरुले नै थामिदिनु पर्ने हो ? वा कुनै नियोजित योजना अन्तर्गत महिलालाई यसको पनि भारी बोकाइदिने काम भयो ?

अबका बहसमा सोधखोजको विषय यो पनि बन्नु पर्छ भन्ने लाग्छ । 

तिनै पर्वहरु, जुन महिलाहरुले नै धानेको देखिन्छ, ती मध्ये तीज पनि एक हो यसबारे यहाँ केही लेख्ने प्रयत्न गरेको छ । 

हिन्दु नारीको महान चाड हरितालिका तिज संसारभर नै नेपाली महिलाहरुले उच्च महत्वका साथ मनाउने गर्दछन् । 

विवाहित नारीहरुले आफ्नो श्रीमानको आयु र प्रगतिको कामना गर्दै र अविवाहित नारीले राम्रो र चाहे जस्तो श्रीमानको कामना गर्दै व्रत वसेर शिवको मन्दिरमा गएर पुजा गरी यो पर्व मनाउने गरिन्छ । पछिल्लो समय महंगा गहना र कपडाको पहिरनमा आफ्नो सुन्दरता र सम्पति देखाउने नारी प्रतिस्पर्धाको रुपमा पनि विकास भएको छ ।

आदिम साम्यवादी युगमा मातृसत्ता थियो । मान्छे पारिवारिक जिवनमा प्रवेस गरेसँगै दास युगको प्रारम्भ हुन्छ । पारिवारिक जिवनको शुरुवात सँगै महिलाको आफ्नो पहिचान घरमा सिमित हुन थाल्दछ । सायद पुर्वीय धर्म, संस्कृति र सभ्यताको प्रारम्भ पनि यसै युगको मध्यबाट शुरु भएको हुनुपर्छ । 

पुरुषको प्रभावको महिमामा आधारित शास्त्रले महिलालाई आफ्नो निजि मनोरञ्जन र घर हेरचाहकी पात्र वनाउने प्रचलनको विकास हुदैगर्दा एउटी महिला रजस्वला नहुदै सानो उमेरमा एउटा पुरुषसँग विवाह वन्धनमा वाँधिएर श्रीमानको घर जानु पर्ने र पुरुषसँग लिहिन हुनुपर्ने मान्यता स्थापीत गरियो । 

श्रीमान भगवान विष्णुको प्रतीक मानेर पुजा गर्ने, उसको इच्छा वमोजिम चल्ने स्त्री पतिव्रता र सुशील हुने समाजको व्यख्या हुन थाल्यो र समाजमा महिला आफ्नो पहिचान र सृजनावाट हराउन थाली । सानो उमेरमा विवाह गरेर पतिको घर पठाउँदा पुन्य प्राप्त हुने लालशा जगाएर पराईघर पठाउँदा पराईघरमा महिला दोश्रो दर्जाको व्यवहारको शिकार हुन थाली ।

महिलाले आफ्नै श्रीमानको नाममा व्रत वसेर आयु वढाउने र प्रगतिको कामना गर्ने नाममा माईती लिन आउने र आफ्नो जन्म घरमा वुवा, आमा, दाजुभाई र साथिसंगीसँगको रमाईलो भेटघाट गर्ने अवसरको रुपमा विकास भयो ।  

दुख पाएपनि माईतिमा दुख नविसाउने नारी असल हुुने सामाजको व्याख्याका कारण आफ्ना दुख र पीडाका कहानी सिधै नभनी  गितको माध्यमवाट पोख्ने प्रचलनको रुपमा विकास भयो । 

पछिल्लो समय महंगा  गहना र कपडाको पहिरनमा आफ्नो सुन्दरता र सम्पति देखाउने नारी प्रतिस्पर्धाको रुपमा पनि विकास भएको विकृत पक्षवाट होसियार भई हाम्रो धर्म संस्कृतिले परिवारभित्र सकारात्मक भाव जागृत गर्न सक्नु पर्छ ।

घर परिवार भित्र भावनात्मक एकता कायम हुनु पर्छ । एउटी चेलीको लागि विवाह पछिको घर पनि जन्म घर जस्तै माया र स्नेहले भरिएको हुनु पर्छ । नारीलाई पुरुषको अस्तित्व र प्रगतिसँग लिहिन गर्ने र गराउने होइन पुरुष भन्दा फरक पनि नयाँ अस्तित्व, पहिचान र सृजना महिलासँग हुन्छ भन्ने शाश्वत सत्यलाई हाम्रो धर्म, संस्कृतिले स्वीकार्नु पर्छ र समयको गति र विकाससँगै विकृत पक्षलाई छोड्नु र वैज्ञानिक र राम्रा पक्षहरुलाई निरन्तरता दिनु पर्दछ।  

हिजो आज चाडबाड थुप्रिएको फोहोर जस्तै त बन्दैछैन भन्ने कोणबाट पनि बहस हुन थालेको छ । जमेर बसेको कुवा र बगिरहेको नदीसँग हाम्रा सांस्कृतिक पर्वहरु पनि तुलना गर्न सकिन्छ । चाडबाडहरु पनि समय सापेक्ष शोधन गरिएन भने जमेर बसेको कुवाको पानी जसरी फोहोर जमेर खानै नहुने अर्थात् प्रयोग गर्नै नहुने बन्छ, त्यस्तै, बगिरहेको नदी जस्तै प्रवाहशील, सफा, स्वच्छ, स्वस्थ बनाउने हो भने परम्परागत पर्वहरुमा झाँगिएको विकृति रुपी लेऊ झारपातहरु पनि शोधन गर्नु पर्ने हुन्छ । 

यसरी नै नेपाली समाज सुहाउँदो पर्वहरु विकास गर्न सकिएन भने भोलिका दिनमा हाम्रा संस्कृतिहरु हाम्रै लागि भद्दा मजाकको विषय बन्ने छ । र, भोलिका सन्तानहरुले बोक्न नसक्ने गह्रुँगो बन्ने दिन पनि आउन सक्छ । 

त्यसैले, नेपाली चेलीहरुले नेपालीपन सुहाउँदो रुपमा, सांस्कृतिक कलेवरलाई समय सापेक्ष सुहाउँदो र पारम्परिक दुवै कुराको सुन्दर संयोजन गरी मनाउन मेरो सुझाव रहेको छ । अक्सर, यस्ता विषयमा सांस्कृतिकविद्हरुले धारणा सार्वजनिक गर्ने र सरकारले पनि सोही अनुरुप जनतामा सुसूचित गर्नु पर्ने ट्रेन्ड हामी कहाँ छैन ।

हुनु पर्ने चाहिँ त्यस्ता सम्बन्धित पक्षहरुबाटै चाड मनाउने र चाडका रुपमा थुप्रिएका फोहोर कुराहरु यी यी हुन्, आजैदेखि पखाल्ने भनी समाजलाई निर्देश गर्ने निकाय पनि नेपालमा हुन सकोस्, सरकार सम्बन्धित सरोकारवालाहरुमा पनि यो सन्देश जान सकोस्, शुभकामना !

लेखक

०००



प्रकाशित: २०७७ भाद्र ७
August 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार