निर्माण सञ्चार, १० भदौ, काठमाडौं । मित्रराष्ट्र रसियासँग नेपालको भौतिक पूर्वाधार विकासको लामो समयदेखि रोकिएको सहयात्रा संवाद थालनी भएको छ । रसिया नेपालको पुरानो विकास साझेदार मित्र राष्ट्र पनि हो । करिब ३ दशक अघिसम्म जुन देशमा गएर नेपालका कयौं डाक्टर, इन्जिनियर र उद्यमीहरुले पढ्ने मौका पाएका थिए, र तिनीहरु नै नेपालका विभिन्न तहमा पुगेर देशको सेवा गर्नेमा पनि दर्ज भएका थिए ।
उद्यमी उपेन्द्र महतो, जीवा लामिछाने जस्ता एनआरएनए सम्बद्ध उद्यमीहरुको नाम त यसै सिलसिलामा आई नै हाल्छ । राष्ट्रिय योजना आयोगका सदस्य डा सुमित्रा अमात्य पनि यसै सिलसिलामा चर्चामा आउने नारी हस्ताक्षर हुन् ।
बहुदलकाल अघि नै रसियाले नेपालका आधारभूत औद्योगिक कलकारखानाहरुमा सहयोग गरेको कुरा स्पष्टै छ । बहुदल कालमा ती कारखानाहरु भलै धराशयी बनाइयो, तिनमाथि मित्र राष्ट्र रसियाले गरेको सहयोगको सम्झना गर्ने हो भने पनि ती उद्योगहरु एकपटक फेरि पनि हाइ हाइ गर्दै उठ्ने थिए कि !
जनकपुर चुरोट कारखाना, पथलैया ढल्केबर राजमार्ग, बीरगन्ज चिनी कारखाना, पनौती हाइड्रो इलेक्ट्रिक पावर स्टेसन, कान्ती अस्पताल, कृषि औजार कारखाना, पश्चिम नेपालमा स्थापित रोजिन एण्ड टर्पाइन प्लाण्टजस्ता ‘पूर्वाधार साझेदार स्मरक’हरु आज पनि यी दुई देशको सम्बन्धलाई सम्झाउने पिलरहरु हुन् ।
यिनको सुरक्षा र वृद्धि नेपालको सरकारहरुले गर्न सके वा सकेनन्, रसियन सरकारले सायद सोध्ने छैन, तर मुलुकको अर्थतन्त्र धराशयी बनाउने र परनिर्भर गराउने गरी यस्ता करिब ४० बढी उद्योगहरु बन्द गराउने विगतका सरकारहरुबाट यो सरकारले सायद आँखा खोल्ने छ भन्ने याद गराउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले रसियन राजदूतसँग भेट गरेका हुन् ।
सहरी विकास मन्त्री समेत रहेका नेम्वाङसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले मंगलबार शिष्टाचार भेटवार्ता गरेको मन्त्रीको सचिवालयले बताएको हो ।
सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले रुसले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप तयार गरेकोमा बधाई दिएका थिए ।
उनले उक्त खोप आविष्कारको बाटोमा मित्रराष्ट्र रसियालाई पूर्ण सफलताको सन्देश समेत पठाएका छन् ।
नेपालको भौतिक विकासको पुरानो मित्र रसियालाई मन्त्री नेम्वाङ्गले पूर्वपश्चिम विद्युतिय रेलमार्गको कम्तिमा पनि इनरुवा–बद्र्रिवास खण्डको निर्माणमा लगानी सहितको सहकार्यको प्रस्ताव गरेका थिए ।
त्यस्तै, करिब ४.५ खर्ब लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाण्डौको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको मन्त्रीको सचिवालयको भनाइ छ ।
उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफु उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
औद्योगिक तथा भौतिक पूर्वाधार पुरोना साझेदार मित्र राष्ट्र रुसका रुजदूत सहित मन्त्री नेम्वाङको भेटवार्ता, तस्वीर स्रोतः मन्त्रीको सचिवालय
भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्