नेपाली समय: १०:४२:३८ बिहान
वि.सं २०८३ जेठ ६   बुधवार

विद्युत् प्राधिकरण इञ्जिनियरिङ कम्पनी र वैकल्पिक ऊर्जाबीच लघु तथा साना जलविद्युतको मिनीग्रिड निर्माण गर्ने सम्झौता

निर्माण सञ्चार, २ कात्तिक, काठमाडौं

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रशारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एक आपसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् ।  

कर्णाली प्रदेशको जुम्ला जिल्लाको विभिन्न ७ वटा लघु तथा साना जलविद्युत् आयोजनाहरुलाई एक आपसमा जडान गरी मिनीग्रिड निर्माणको लागि विस्तृत सम्भावयता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण इञ्जिनियरिङ कम्पनी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच आज सम्झौता भएको हो । 

सो सम्झौतामा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी र नेपाल विद्युत् प्राधिकरण इञ्जिनियरिङ कम्पनी (एन.इ.ए.इञ्जिनियरिङ कम्पनी लिमिटेड) को तर्फबाट उक्त कम्पनी का म्यानेजिङ डाइरेक्टर तथा नेपाल विद्युत् प्राधिकरणको डेपुटी मेनेजिङ डाइरेक्टर हितेन्द्र देव शाक्यले हस्ताक्षर गरेका छन् । 

उक्त मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ डिजाइन लगायत विस्तृत सम्भाव्यता अध्ययन एन.इ.ए. इञ्जिनियरिङ कम्पनी लिमिटेडले गर्नेछ भने सो को लागि आर्थिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ । 

सो परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सम्पन्न ६ वटा आयोजनाहरु तथा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा सम्पन्न १ वटा गरी ७ वटा आयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । 

जुम्ला सदरमुकाम स्थित चन्नदननाथ नगरपालिकामा रहेको २०० किलोवाट क्षमताको घुघुजी साना जलविद्युत आयोजना नेपाल विद्युत् प्राधिकरणको सहयोगमा निर्माण भएको हो भने बाँकी आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १.६२४ मेगावाट रहेको छ ।

मिनीग्रिड परियोजनामा जडान गरिने लघु तथा साना जलविद्युत् आयोजनाहरु

 

क्र.स. आयोजनाको नाम क्षमता (किलोवाट) आयोजना स्थल  
गिरी खोला साना जलविद्युत आयोजना  २०० तातोपानी गाउँपालिका  
घुघुजी साना जलविद्युत आयोजना  २००  चन्दननाथ नगरपालिका  
जुवानदी ठिन्केबाँध लघु जलविद्युत आयोजना  १००   चन्दननाथ नगरपालिका  
४   त्रिवेणी लघु जलविद्युत आयोजना  ४५  पातारासी गाउँपालिका  
लुम लघु जलविद्युत आयोजना   ३१  पातारासी गाउँपालिका  
 डिल्लीचौर लघु जलविद्युत आयोजना  ५०  पातारासी गाउँपालिका  
७   चुकेनी खोला साना जलविद्युत आयोजना  ९९८   पातारासी गाउँपालिका  
--  जम्मा  -- १,६२४  --  
 

 

 

 

 

 

                                   
          

 

 

 

लघु तथा साना जलविद्युत् आयोजनाको प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक: कार्यकारी निर्देशक अधिकारी

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले लघु तथा साना जलविद्युत आयोजनाको प्रभावकारी व्यवस्थापन र दीगोपनाको लागि आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नुपर्ने बतएका छन् । 
मिनीग्रिड निर्माणको लागि एन.इ.ए इञ्जिनियरिङ कम्पनीसँगको सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी निर्देशक अधिकारीले सो कुरा बताएका हुन् ।

केन्द्रले विगतदेखि नै यस कार्यलाई प्राथमिकतामा राखेको र हालसम्म देशका विभिन्न स्थानमा ६ वटा लघु जलविद्युत् आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडान भइसकेको र २४ वटा लघु जलविद्युत् आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडानको लागि अध्ययन सम्पन्न भएको पनि उनले जानकारी दिए ।

नेपाल सरकार विकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनको पहुँच पुग्ने बित्तिकै बन्द हुने क्रमलाई रोक्न उक्त आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जोड्नुको विकल्प नरहेको कार्यकारी निर्देशक अधिकारीको भनाइ छ ।

हाल देशभर रहेका झण्डै २००० लघु जलविद्युत् आयोजनाहरुमध्ये राष्ट्रिय प्रशारण लाइनमा जोड्न सम्भाव्य रहेका कूल आयोजनाहरुको संख्या छिट्टै पहिचान गरिने उनको भनाइ छ ।

आयोजना जडान गर्दा, एकल आयोजनालाई सिधै राष्ट्रिय प्रशारणलाइनमा जोड्ने, निश्चित क्षेत्रमा रहेका एकभन्दा बढी आयोजनाहरुको लोकल ग्रिड निर्माण गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाई अफग्रिड मोडमै सञ्चालन गर्न सकिने जस्ता विभिन्न विकल्प सहित अध्ययन गरिने समेत उनले बताए ।

मिनीग्रिड निर्माणका लागि प्राधिकरण र केन्द्रबीच सहकार्य आवश्यक: डेपुटी मेनेजिङ डाइरेक्टर हितेन्द्र देव शाक्य

त्यस्तै सम्झौताको अवसरमा बोल्दै एन.इ.ए. इञ्जिनियरिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर तथा प्राधिकरणका डेपुटी म्यानेजिङ डाइरेक्टर  हितेन्द्र देव शाक्य मिनीग्रिड निर्माणको लागि प्राधिकरण र केन्द्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

यस्ता मिनीग्रिड निर्माणले प्राधिकरणको वितरण प्रणालीलाई अझ मजबुत बनाउने बताउँदै यसको लागि नेपाल सरकार र विभिन्न विकास साझेदारहरुसँग छलफल गरी उपयुक्त आर्थिक स्रोतको व्यवस्था गरी अझ बृहत् रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । 

उनले लघु तथा साना जलविद्युत्लाई राष्ट्रिय ग्रिड प्रणालीमा जोड्नका लागि आवश्यक गुरु योजना तयार गर्न केन्द्र, प्राधिकरण र एन.इ.ए. इञ्जिनियरिङ कम्पनीबीच त्रिपक्षीय समझदारी गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

०००
 



प्रकाशित: २०७७ कार्तिक २
October 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार