नेपाली समय: १०:४२:३८ बिहान
वि.सं २०८३ जेठ ६   बुधवार

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २४औं वर्षगाँठः ‘सरकारको उच्च प्राथमिकतामा नवीकरणीय ऊर्जा’, ६९ मेगावाट उत्पादन

निर्माण सञ्चार, १८ कात्तिक, काठमाडौं

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २४औं बार्षिकोत्सव सम्पन्न गरेको छ । केन्द्रीय प्रसारण लाइन नभेटिएका दूरदराजमा जनताको ज्योति बनेको प्रवद्र्धन केन्द्रले हाल त्यस्ता दुर्गम स्थानहरुमा ६९ मेगावाट विद्युत् उत्पादन मार्फत् सेवा दिइरहेको छ । 

  • वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २४औं बार्षिकोत्सव
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुँच पुराउन नेपाल सरकारले नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

वैकल्पिक ऊर्जा विकास समितिको अध्यक्ष समेत रहेका मन्त्री पुनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २४औं वार्षिकोत्सवलाई शुभकामना दिंदै सो बताएका हुन् । उनले मन्त्रालयको नीतिगत नेतृत्व तथा मार्ग निर्देशनमा रही केन्द्रले आफ्नो क्षमतालाई स्तरोन्नति गर्दै घरायसी प्रविधिबाट संस्थागत तथा सामुदायिक स्तरका प्रविधिहरु प्रवद्र्धनमा जोड दिंदै आएको उनको भनाइ छ ।

  • करीब १८ प्रतिशत दुर्गम भेगका जनताले सुरुआती विद्युत सेवा नवीकरणीय ऊर्जा प्रविधिबाट प्राप्त प्राप्त गरेकोमा हाल पनि करीब १० प्रतिशत जनतामा विद्युतको पहुँच केन्द्रबाट प्रवद्र्धित नवीकरणीय ऊर्जाका स्रोतबाट उपलब्ध भैरहेको
नवीकरणीय उर्जा सम्बन्धी विभिन्न कार्यक्रमहरु सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । मन्त्री पुनका अनुसार यसका लागि सरकारले ऊर्जा सम्मिश्रण, ठूला क्षमताका नवीकरणीय ऊर्जा प्रविधिहरु, मिनीग्रिड जस्ता क्षेत्रहरुमा प्रमुख रुपमा कार्य गरिरहेको उनले जानकारी दिए । 

त्यसैगरी नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, विकास साझेदार, नीजि क्षेत्र, गैह्रसरकारी संस्था, समुदाय तथा उपभोक्तहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको उनको भनाइ छ । 

‘नवीकरणीय ऊर्जा प्रवद्र्धनको लागि केन्द्रको भूमिका महत्वपूर्ण’ ऊर्जा सचिव घिमिरे

त्यसैगरी शुभकामना सन्देश दिने क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मुलुक स्वच्छ, भरपर्दो तथा किफायती ऊर्जाको सर्वव्यापी पहुँच पु¥याउने दिशामा अग्रसर रहेको उल्लेख गरेका छन् । उनका अनुसार ग्रामीण दूरदराजमा नवीकरणीय ऊर्जा प्रवद्र्धनको लागि नेपाल सरकारको प्रमुख निकायको रुपमा रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका नै प्रमुख र महत्वपूर्ण रही आएको छ । 

उनले भने, ‘स्थापनाको २४ औं बर्षमा आइपुग्दा केन्द्रले ग्रामीण समुदायको लागि निरन्तर रुपमा नवीकरणीय ऊर्जाको सेवा प्रदान गर्दै आएको नवीकरणीय ऊर्जा स्थानीय स्तरमा सर्वसुलभ उपलब्ध ऊर्जाको स्रोतको रुपमा रहेको कसैले नकार्न सक्तैन ।’

नवीकरणीय ऊर्जा प्रयोगले वन विनाश कम गर्न, कार्बन उत्सर्जन न्यूनीकरण, भरपर्दो ऊर्जा आपूर्तिको सुनिश्चितता, ऊर्जा सुरक्षा तथा आयात इन्धनको परनिर्भरता कम गर्न सघाउ पु¥याउने सचिव घिमिरेको भनाइ छ । 

केन्द्रले  हरित जलबायु कोष (Green Climate Fund) को प्रत्यक्ष पहुँच निकाय  (Direct Eccess Entity) को रुपमा प्राप्त गरेको मान्यताले  केन्द्रको भावी कार्यदिशामा निकै महत्व राखेको उनको भनाइ छ । 

  • हालसम्म सञ्चालित विभिन्न कार्यक्रमहरु मार्फत लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाको प्रवद्र्धनबाट करीब ६८.७५ मेगावाट बराबर विद्युतीकरण, १५ लाख सुधारिएको चुलो, ४ लाख  ३० हजार बायोग्यास, १२ हजार सुधारिएको पानीघट्ट लगायतका विभिन्न नवीकरणीय ऊर्जा प्रविधिहरु विस्तार भएको
त्यसैगरी केन्द्र र नेपाल विद्युत प्राधिकरणबीच समन्वय गरी आगामी २ वर्षभित्र सबैमा विद्युतको पहुँच पु¥याउने कार्यको सफलताको उनले शुभकामना समेत व्यक्त गरेका छन् ।

‘सबैमा विद्युतको पहुँच तथा स्वच्छ ऊर्जा प्रवद्र्धनमा केन्द्रको जोड रहेको छ’ कार्यकारी निर्देशक अधिकारी

शुभकामना सन्देश दिने क्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नवीकरणीय ऊर्जाको प्रवद्र्धनमा केन्द्रसँग सहकार्य गर्ने सम्पूर्ण सरोकारवाला निकायहरुलाई धन्यवाद उदिएका छन् ।

हालसम्म सञ्चालित विभिन्न कार्यक्रमहरु मार्फत लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाको प्रवद्र्धनबाट करीब ६८.७५ मेगावाट बराबर विद्युतीकरण, १५ लाख सुधारिएको चुलो, ४ लाख  ३० हजार बायोग्यास, १२ हजार सुधारिएको पानीघट्ट लगायतका विभिन्न नवीकरणीय ऊर्जा प्रविधिहरु विस्तार भएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । 

उनका अनुसार करीब १८ प्रतिशत दुर्गम भेगका जनताले सुरुआती विद्युत सेवा नवीकरणीय ऊर्जा प्रविधिबाट प्राप्त प्राप्त गरेकोमा हाल पनि करीब १० प्रतिशत जनतामा विद्युतको पहुँच केन्द्रबाट प्रवद्र्धित नवीकरणीय ऊर्जाका स्रोतबाट उपलब्ध भैरहेको पनि बताए । 

अझैपनि करीब १० प्रतिशत जनतामा विद्युतको पहुँच पुग्न बाँकी रहेको र विद्युतको पहुँच नपुगेका प्रायःजसो स्थानहरु दुर्गम क्षेत्रमा अवस्थित रहेको सन्दर्भमा विद्युतीकरण तथा खाना पकाउने स्वच्छ ऊर्जा प्रवद्र्धन गर्नको लागि विद्यमान अनुदान नीतिमा समयसापेक्ष परिवर्तन गरी ती क्षेत्रहरुमा निरन्तर कार्य गरिरहेको उनको भनाइ छ । 

केन्द्रले संस्थागत सुधार, नीजि क्षेत्रसँग सहकार्य, ऊर्जाको पहुँच वृद्धि, विकास साझेदार संस्थाको सहयोगमा वृद्धि, केन्द्रको  ऐन निर्माण कार्य जस्ता महत्वपूर्ण कार्यलाई अगाडि बढाउँदै आएको छ । 

कार्यकारी निर्देशक अधिकारीले मन्त्रालयको नीतिगत मार्गदर्शन तथा सल्लाह सुझावको आधारमा नवीकरणीय ऊर्जाको प्रवद्र्धनमा केन्द्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छविलाई वृद्धि गरी नवीकरणीय ऊर्जाको दीगो विकासमा जोड दिने बताए । उनले केन्द्रलाई आगामी दिनमा नवीकरणीय ऊर्जा क्षेत्रको विशिष्टता केन्द्र (Centre of Excellence) बनाउने दिशामा केन्द्र अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केन्द्रद्वारा हाल सञ्चालित प्रमुख कार्यक्रमहरुमा ऊज्यालो नेपाल अभियान अन्तर्गत मिनीग्रिड विशेष कार्यक्रम, ठूला बायोग्यास तथा फोहरबाट ऊर्जा उत्पादन (Waste to Energy), तराइ स्वच्छ ऊर्जा कार्यक्रम तथा विद्युतीय चुलो प्रवद्र्धन, ऊर्जा दक्षता प्रवद्र्धन, कार्बन वित्त (Carbon Finance) तथा हरित जलवायु कोष, प्रदेश तथा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम, दिगो ऊर्जा च्यालेञ्ज फण्ड आदि रहेका छन् ।


केन्द्रले यो वर्षको वार्षिक कार्यक्रम कोरोना महामारीको कारण औपचारिक रुपमा गर्न नसकेको उनले बताए ।

कोरोना महामारीकै कारण प्रत्येक वर्ष केन्द्रको वार्षिकोत्सवको अवसरमा प्रदान गरिंदै आएको सुप्रविध नवीकरणीय ऊर्जा पुरस्कार समेत यस वर्ष स्थगन गरिएको कार्यकारी निर्देशक अधिकारीको भनाइ छ ।

 

०००



प्रकाशित: २०७७ कार्तिक १८
November 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार