नेपाली समय: ०३:०८:०२ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

उज्यालो नेपालमा जोडियो नारायणी पारिको सुस्ता: २६६ घरधुरीमा शौर्यऊर्जा

निर्माण  सञ्चार,१८ मंसिर, काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक एवं आर्थिक सहयोग, तराई मधेश समृद्धि कार्यक्रम र सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा नारायणी नदी पारीको सुस्तामा १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजना निर्माण सम्पन्न भएको छ । 

उक्त आयोजना  उज्यालो नेपालको लक्ष्य पूरा गर्ने उद्देश्य अनुसार  मिनी ग्रिड निर्माण गरिएको थियो । निर्माण पूरा भएको आयोजना बुधबार (मंसिर १७ गते) राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे । 

उज्यालो नेपालको लक्ष्य पूरा गर्ने उद्देश्य स्वरुप माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तको विशेष पहलमा यस प्रकारका आयोजनाहरुको शुरुवात भएको थियो ।  

नेपाल भारतको सिमा क्षेत्रमा अवस्थित सुस्ता गाउँपालिका विद्युतको पहुँचबाट टाढा रहेको स्थितिलाई अन्त्य गर्न यो आयोजना निर्माण  गरिएको हो । आयोजना निर्माणको लागि गत २०७६ कार्तिक ५ गते  मन्त्री पुनले शिलान्यास गरेका थिए । आयोजना निर्माण कार्य काठमाडौं स्थित टपसन इनर्जी प्रा.लि.ले गरेको हो । 

उद्घाटन समारोहमा बोल्दै सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिमा समस्याका कारणले हामी सबैलाई दुखिरहेको सुस्तालाई सौर्य मिनीग्रिड मार्फत उज्यालो प्रदान गरी मलमपट्टी लाउन पाउँदा गौरवान्वित भएको भन्दै खुसी व्यक्त गरे  ।

 सुस्तामा मिनीग्रिड उद्घाटनको सिलसिलामा पहिलोपटक पाइला टेक्न पाउनु आफ्नो लागि अविश्मरणीय रहेको तिमिल्सिनाले बताए । उक्त अवसरमा यस आयोजना सम्पन्न गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीलाई विशेष धन्यवाद दिए । 

  सुस्ताको समस्या बुझेर सौर्य मिनीग्रिड निर्माणको लागि आफूले निरन्तर पहल गरेको बताउँदै छोटो समयमै आयोजना सम्पन्न हुनु सकारात्मक रहेको तिमिल्सिनाले बताए । अब सुस्तालाई विकासको नमुना बनाइने बताउँदै उनले नारायणी नदीमा झोलुङ्गे पुल, होमस्टे, सामुदायिक भवन, विद्यालय जस्ता समग्र क्षेत्रको विकास गरिने जनाएका छन्  । त्यस्तै नदी कटान नियन्त्रण, अन्य आर्थिक गतिविधिका विषयहरुमा विशेष ध्यान दिइने बतएका छन् । त्यसैगरी नागरिकता वितरण, आवास निर्माण जस्ता कार्यलाई विशेष जोड दिइने बताउँदै उनले कार्यक्रममा उपस्थित हुने मौका प्रदान गरेकोमा आयोजक सुस्ता गाउँपालिकालाई धन्यवाद दिएका छन्  । 

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले तराइ मधेशको विकासको लागि  आफैंले ल्याएको कार्यक्रम तराइ मधेश समृद्धि कार्यक्रम मार्फत रकम विनियोजन गरेर यस मिनीग्रिड योजना निर्माण कार्य पक्का गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । 

तत्कालीन अवस्थामा संघीय मामिला तथा  स्थानीय विकास स्थानीय विकासमन्त्री छँदा उनले परियोजनाको लागि १ करोड ७५ लाख विनियोजना गरेको लालबाबु पण्डितले बताए । विकासको अन्तिम लक्ष्य समृद्ध नेपाल सुखी नेपाली रहेको बताउँदै पूर्व मन्त्री पण्डितले सुस्ताबासीको पिडा बुझेर आफूले अन्य ठाउँलाई भन्दा सुस्तालाई बढी सहयोग गरिएको बताउँदै यहाँ झोलुंगे पुल लगायतका पूर्वाधारका कार्यमा आफूले विशेष जोड दिएको स्मरण गराएका छन् ।


कार्यक्रममा बोल्दै विशेष अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सबै पूर्वाधारको केन्द्रबिन्दु विद्युत भएकोले जति विकासका पूर्वाधार भए पनि बिजुली भएन भने नुनबिनाको तरकारी जस्तै हुने थियो भन्दै विद्युत मार्फत यस क्षेत्रको कायापलट गरेकोमा संघीय सरकार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा गाउँपालिकालाई धन्यवाद दिए । सुस्तालाई लुम्बिनी प्रदेशले विशेष महत्वको क्षेत्रमा राखेको बताउँदै उनले भने यस क्षेत्रको विकासको लागि एकीकृत योजना ल्याइएको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदशेसभाका उपसभामुख माननीय कृष्णी थारु, प्रदशे सभा सदस्य अजय बहादुर शाही लागयतले सुस्ताको समस्या र आयोजनाको सान्दर्भिकताको बारेमा धारणा राखेका थिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले सामरिक महत्वको यस क्षेत्रमा आयोजना निर्माणको लागि लगानी जुटाइ दिएकोमा राष्ट्रियसभाका अध्यक्ष र मन्त्रीज्यूलाई विशेष धन्यवाद दिंदै विश्वस्तरीय स्मार्ट प्रविधि प्रयोग गरी निर्माण गरिएको यस आयोजनाबाट विद्युत सेवाको साथै अन्य उद्योगधन्दाहरु सञ्चालन गर्न सकिने र भविश्यमा ऊर्जा अपुग भएमा थप समेत गर्न सकिने बताए । मोबाइलबाटै यस आयोजनाबारे जुनसुकै स्थानबाट जानकारी लिन सकिन्छ । 

यस क्षेत्रमा मिनीग्रिडको साथै ८ वटा सौर्य सिंचाइ पम्प समेत जडान गरिएको मधुसुधन अधिकारीले बताए । आयोजनाबाट सुस्तागाउँपालिका वडा नं. ५ का २६६ घरधुरीमा विद्युतीकरण भएको छ । केन्द्रले राष्ट्रिय प्रशारण लाइन पु¥याउन कठिन हुने देशका विभिन्न भागमा आगामी २ वर्षभित्र विद्युत सेवा पु¥याउने उर्जा , जलश्रोत तथा सिचाइ मन्त्रालयद्वारा जारी श्वेतपत्रको अवधारणा अन्तर्गतको  योजना स्वरुप मिनीग्रिड विशेष कार्यक्रम सञ्चालनमा रहेको र सो कार्यक्रम मार्फत विद्युत पुग्न बाँकी देशका सबै क्षेत्रमा सौर्य मिनीग्रिड आयोजना निर्माण गरी दिगो विद्युत सेवा पु¥याउने अधिकारीले जनाए ।

 चालु आ.व.मा विद्युतीकरण हुन बाँकी ९७ वटा स्थानीय तहमा २०० मिनीग्रिड आयोजना कार्यान्वयन शुरुवात गर्ने लक्ष्य रहेको बताउँदै यस कार्यमा नेपाल विद्युत प्राधिकरणसँग समेत समन्वय गरिएको उनले जानकारी दिए । उनले भने भविश्यमा यस्ता आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा समेत जडान गर्न सकिने छ । 

लुम्बिनी प्रदेशस्थित परासी जिल्लामा रहेको सुस्ता गाउँपालिकालाई नमूना ऊर्जा गाउँको रुपमा विकास गर्नको लागि गाउँपालिकासँग सहकार्य गरिएको कार्यकारी निर्देशक अधिकारीले बताए । आयोजनाबाट उत्पादित विद्युतले गाउँपािलकाका सम्पूर्ण घरधुरीमा विद्युतीकरण हुनुको साथै सर्पदंश उपचार केन्द्र तथा अन्य उत्पादनशील ऊर्जा उपयोगका क्षेत्रमा समेत विद्युतको व्यवसायिक उपयोग गरिने छ ।

कूल आयोजना लागत ४ करोड, ८० लाख ९२ हजार २६८ रहेको सो आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको अनुदान २ करोड ८८ लाख ५५ हजार ३६१ (६० प्रतिशत), तराई मधेश समृद्धि कार्यक्रमको १ करोड ७५ लाख (३६ प्रतिशत) तथा गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ (४ प्रतिशत)  लगानी रहेको छ । 

राष्टिय प्रशारण लाइनको पहुँच नपुग्दा सुस्तावासी अहिलेसम्म अन्धकारमा थिए । नेपाल र भारतको सिमानामा रहेको सुस्तामा नारायणी नदीका कारण राष्टिय प्रशारण लाइन पु¥याउन असहज हुँदा यहाँका नागरिक वर्षौदेखि टुकीको भरमा जिवन बिताउन बाध्य रहेका थिए । सुस्तालाई उज्यालो बनाउन योगदान पु¥याएकोमा स्थानीयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तराई मधेश समृद्धि कार्यक्रम र गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

सुस्ताको कूल ४०,००० हेक्टर भूभागमध्ये १४००० हेक्टर अतिक्रमित भएको छ भने १९००० हेक्टर विवादास्पद भूमिको रूपमा रहेको छ । हाल जम्मा ७००० हेक्टर भूभाग मात्र नेपालको अधिनमा रहेको छ ।

 

०००
 



प्रकाशित: २०७७ मंसिर १८
December 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार