नेपाली समय: १२:२२:३९ am
वि.सं २०७८ कार्तिक ८   सोमवार

एफक्यानको २२ औं साधारण सभाको तयारी पुरा, चैत २९ गते प्रज्ञाप्रतिष्ठानमा निम्तो !

निर्माण सञ्चार, २८ चैत, २०७७, काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा चैत २९ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । 
राजधानी काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने उक्त साधारणसभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको उद्घाटन बिहान १० बजे रहेको छ । 

महासंघ महासचिव रोशन दाहालले दिएको जानकारी अनुसार साधारणसभामा देशभरका एक हजार बढी निर्माण व्यवसायीहरूको सहभागिता रहने छ । साधारण सभाको बन्द सत्र पनि दोस्रो दिन (चैत ३० गते) सोही स्थानमा हुने भएको छ । 

यसपटकको साधारणसभामा महासंघले कोभिड–१९ को सङ्क्रमणपछि समस्यामा परेको निर्माण उद्योगबारे विशेष ध्यान खर्चेको छ । सभामा वर्तमान निर्माण उद्योगका समस्या र तिनको दीर्घकालीन समाधानका लागि सरकार र निजी क्षेत्र कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे सभा केन्द्रित रहने छ । 

दुईदिनसम्म चल्ने सो साधारण सभाको अन्त्यमा काठमाडौं घोषणापत्र जारी गरी समापन हुने छ । 

उक्त साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारण सभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन हुनेछ भने निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरूलाई महासंघले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम स्थलमा निर्माण उपकरण सहित निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित ३० वटा प्रदर्शनी कक्षहरु पनि राखिने महासचिव दाहालले जानकारी दिए । महासंघले आफ्नो उक्त साधारण सभामा उपस्थित हुन तोकिएको मिति र स्थानमा सम्बन्धित सदस्यहरुलाई निम्ता गरेको छ । 

०००



प्रकाशित: २०७७ चैत्र २८
April 10th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार