नेपाली समय: १०:३५:०७ बिहान
वि.सं २०७८ आश्विन ७   बिहीवार

युवा परिषदद्वारा निर्वाचन बहस आरम्भः ‘निर्वाचन प्रणाली, युवा सहभागिता र सुशासन’ माथि भयो देशव्यापी बहस

निर्माण सञ्चार, २५ जेठ, काठमाडौं

राष्ट्रिय युवा परिषद् नेपालले आमनिर्वाचन प्रणाली र प्रक्रियामाथि बहस आरम्भ गरेको छ । घोषित निर्वाचनबारे विपक्षी दलहरु सर्वाेच्चको ढोकामा उभिरहेका बेला परिषद्ले भने ‘निर्वाचन प्रणाली, युवा सहभागिता र सुशसन’ विषयमा नीति विमर्श /बहस आरम्भ गरेको हो । ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललको कार्यक्रमको उद्देश्य र औचित्य प्रकाश पार्दै मुलुकको निर्वाचन प्रणालीमा सुधार नगर्ने हो भने दलीय लोकतन्त्र अपारदर्शी र निष्ठा विहीन हुने समस्या झनै विकराल बन्ने औँल्याएका थिए । निर्वाचन प्रणाली, पद्दति, दलगत विचार तथा निष्ठा सबै कुरा अपारदर्शी पैसाको चलखेलमा बाँधिएको भन्दै उनले प्रणालीमाथि समीक्षा गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपालमा भइरहेको निर्वाचन प्रणाली, प्रयोग र त्यसका सकारात्मक पक्ष र सुधारका पक्षमाथि निर्वाचन आयोगका तर्फबाट उपसचिव कोमल धमलाले कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यपत्रमाथि केन्द्रित रही वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली सहित नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे, निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइएफएफएस) का डेपुटी कन्ट्री डाइरेक्टर राधिका रेग्मी लगायत विभिन्न युवा संघसंस्थाका प्रतिनिधिहरुको सहभागी सो ‘वेब–सेमिनार’ (वेबिनार) मा नेकपा एमाले नेता ज्ञवालीले सरकारले घोषणा गरेको निर्वाचन अन्ततः मुलुकको अपरिहार्य आवश्यकता बन्दै गएको तर दलहरुले अनावश्यक बखेडा सिर्जना गरेको आरोप लगाए । 

नेता ज्ञवालीले अर्काे मंसिर वा फागुन भित्र आवधिक निर्वाचन नै गर्नु पर्ने क्यालेन्डर रहेको उद्धृत गर्दै जुन पक्ष प्रतिनिधि सभा पुनस्थापना भनी लागिपरिरहेको छ सोही पक्षकै बलमिच्याइ र अतिवादी अर्घेलोका कारण मुलुकले मध्यावधि निर्वाचनमा जानु पर्ने बाध्यता आइलागेको दोहोराएका थिए ।

नेता ज्ञवालीका अनुसार दलहरुले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमा नजानका लागि बखेडा झिकेको भन्दै उनीहरुकै कारणले अघिल्लो पटक पुनस्थापित प्रतिनिधि सभालाई पंगु बनाउने काम पनि सोही पक्षबाट भएको र हाल आएर न्यायपालिकालाई पनि अतिरञ्जित रुपले दबाबमा पारिरहेको आरोप लगाए ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका तर्फबाट बोल्दै युवा नेता पाण्डेले सरकारले कार्यपालिकामाथि बलमिच्याइँ गरेको आरोप लागएका थिए । उनले सरकारले निर्वाचन प्रणालीमा भइरहेको महँगो व्यवस्थामा सुधार गर्ने विधि समेत अवलम्बन गर्नेबारे सुझाएका थिए ।

स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित निर्वाचन प्रणालीबारे निर्वाचन आयोग र सबै राजनीतिक दलहरु आचारगत रुपमै एकै ठाउँमा उभिनु पर्ने वक्ताहरुको धारणा थियो ।


आयोजक परिषद्ले निर्वाचन प्रणाली, युवा सहभागिता र सुशासनमा केन्द्रित सो बहस शृंखला आगामी दिनमा निरन्तर गर्ने र देशव्यापी रुपमा उठेका सवालहरुको निचोडबाट सुधार गर्नु पर्ने नीतिगत सुझाव सरकार र निर्वाचन आयोगलाई दिने बताएको छ । 

कार्यक्रमको सहजकर्ता थिए टिकाराम यात्री, सहभागीहरुको संख्या अढाइ सयमाथि रहेको थियो । 

 

०००
 



प्रकाशित: २०७८ जेठ २५
June 8th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार