नेपाली समय: १०:३३:१५ बिहान
वि.सं २०७८ माघ १३   बिहीवार

‘अपाङ्गता’ भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरण नुहुनमा ‘ठोस नीति तथा कार्यक्रम कार्यान्वयनको अभाव’ रहेको निष्कर्ष

निर्माण सञ्चार, १३ असोज, काठमाडौं ।

महिला त्यसमा पनि अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम १० गते आइतबार काठमाडौंमा सम्पन्न भएको छ । 

नेपाल अपाङ्ग महिला संघको आयोजना र ग्रीन तारा नेपाल एवं यएन फण्डको सहकार्यमा संचालित अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले अपाङ्गताको दृष्टिकोणमा रहेर जिम्मेवारी बोधका साथ नीति तथा योजना बनाउँनु पर्ने बताइन् । 

उनले कार्यक्रममा अपाङ्गता मैत्री विकास योजना अनुरुप राज्यले विकास नगर्दा अझै पनि अपाङ्गता भएका बालबालिका एवं किशोर किशोरी शिक्षाबाट वञ्चितीकरणको अवस्थामा नै रहनु परेको र अपाङ्गता भएका महिला हिंसाको दर्दनाक अवस्थामा रहेको प्रति दुःख व्यक्त गरिन् । 

कार्यक्रममा बोल्दै सांसद राईले नीति बनिहाले पनि प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका महिलाले झनै विविध खाले हिंसाको चपेटामा रहनुपरेको अवस्थाबारे प्रस्ट पारिन् । 

अपाङ्गता भएका महिला नेतृत्व र सरोकारवालाको सक्रिय सहभागितामा भएको उक्त तालिममा सहभागिको तर्फबाट पनौती नगर कार्यपालिका सदस्य एवं न्यायिक समिति सदस्य निला अधिकारीले आफूले न्ययिक समितिमा रहेर नीतिगत कार्य गर्दा अपाङ्गता भएका महिलालाई केन्द्रमा राखेर गर्ने र सो नगरपालिकामा त्यस्ता महिला विरुद्ध हुने हिंसा न्यूनीकरणको लागि तालिम फलदायी भएको बताइन् ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका शिक्षा अधिकृत शरिता शर्माले आफुले अपाङ्गता जस्तो संवेदनशील विषयमा धैरै सिकेको र सिकेका कुरालाई नगरपलिकाको नीतिगत कार्य एवं नगर क्षेत्रका विद्यालयहरुमा समेत लागु गराउने प्रतिबद्धता व्यक्त गरिन् । 

सबै सक्षम भए संरचना आफै भत्किने भन्दै आयोजक संस्थाकी अध्यक्ष टिका दहालले यस्तो किसिमको तालिम अरु ६ वटा प्रदेशमा पनि गरिने जानकारी गराउँदै तालिममा सिकेका कुरालाई सबैले आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिइन् । 

तालिममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे गरी ११ वटा नगरपालिकाका सरोकारवाला महिला र अपाङ्गता महिला नेतृत्व गरी २३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 

०००
 



प्रकाशित: २०७८ आश्विन १३
September 29th 2021

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ