नेपाली समय: ११:३१:०० बिहान
वि.सं २०७८ माघ १३   बिहीवार

उपत्यका विशेष कमिटीको कार्यालय उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘एमालेमाथि भएको अन्यायको बदला जनताले लिने छन्’

एमाले उपत्यका विशेष कमिटिमा अध्यक्ष सुजिता शाक्य, सचिव बने समीर नेपाल

निर्माण सञ्चार, ८ कात्तिक, ०७८– काठमाडौं ।

एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमाले अबको चुनावबाट पहिले पाएको मतभन्दा ज्यादा मत पाएर मुलुक हाँक्ने पहिलो शक्ति बन्ने दाबी गरेका छन् । 

पहिलो पटक विधानतः व्यवस्था गरिएको प्रदेश स्तरीय उपत्यका विशेष कमिटिको बागबजारस्थित कार्यालयको उद्घाटन गर्दै महासचिव पोखरेलले एमालेमा प्रवेश गर्ने जनलहरहरुको आँकडा दिँदै एमाले अब पनि पहिलो शक्ति बनेर सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

उपत्यका विशेष समन्वय कमिटिका कार्यकर्ताहरुलाई सम्बोधन क्रममा नेता पोखरेलले समृद्ध नेपाल सुखी नेपाली बनाउने महाअभियानमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फाल्नेहरुको पर्दाफास भइसकेको सन्दर्भ उठाउँदै जनताले नै एमाले माथि गरिएको अन्यायको मूल्य विरोधी दलहरु विरुद्ध अभिमत प्रकट गरेर जवाफ दिने  बताएका थिए ।

उनले भने, ‘यतिबेला नेकपा एमालेमा जनताको प्रवेशको लहर यति बाक्लो छ कि भनिसाध्य छैन । हिजो झापामा हेर्नाेस्, २ हजार बढी जनताहरु प्रवेश गरे । म पार्टी कार्यालय जान्छु त्यहीँ त्यतिकै लर्काे छ । अस्ति पार्टी अध्यक्षको घरमा बिहान ८ बजे पुगेको रसुवाबाट काँग्रेस, माओवादी पार्टी छाडेर प्रवेश गर्नेहरु २–३ बस रिजर्भ गरेर रातारात नै आएका थिए,’ महासचिव पोखरेलले थपे, ‘उनीहरुको भनाइ थियो, हामी मात्र ओलीका हातको टीका लगाएर आजै जाने हो । हामी एमालेलाई सबैभन्दा राम्रो दल रहेछ भन्ने चिनेर यसरी आएका हौं ।’

आफ्नो सम्बोधन क्रममा ओली सरकार विरोधी हिजोका गतिविधिहरु संकेत गर्दै महासचिव पोखरेलले पार्टी कार्यकर्ताहरुलाई उत्साही बनेर लाग्न निर्देशन दिएका छन् ।

उनले संकेत गरेको पृष्ठभूमि भनेको केही महिना अघि मात्र तत्कालीन ओली सरकारले सार्वभौम संसदलाई एक ढिक्का बनाई मिचिएको नेपाली भूभाग कालापानी, लिपुलेक सहितको चुच्चे नक्सा पास गरेको थियो । त्यही घटनापछि तत्कालीन नेकपा भित्रैबाट माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ओली नेतृत्वको सरकारमाथि प्रहारको निसाना साँधिएको थियो । फलतः समृद्धि सहित राष्ट्रियता र सार्वभौम मुलुक बनाउने अभियानको नेतृत्व गरिरहेको ओली सरकार अदालतको परमादेशबाट सत्ताबाहिर हुनु परेको थियो । 
नेपाली राजनीतिमा यो दृश्य विश्वमा कहिँ नभएको घटिया दृश्यका रुपमा अंकित अध्याय बन्न पुगेको छ । जुन घटना अदालती आदेशबाट व्यक्तिको नाउँमा प्रधानमन्त्री बन्ने तोकआदेश भएको थियो । 

यतिबेला सर्वाेच्च अदालतको हालत र कथित गठबन्धनका नेताहरुले गरेको अदालती सेटिङ छरपस्ट भएको देखिएपछि आम जनता समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा जुटिरहेको ओली सरकार माथि अन्याय भएको रहेछ भन्ने निष्कर्षमा पुगेको महासचिव ईश्वर पोखरेलको भनाइ छ ।

उपत्यका विशेष कमिटिको कार्यालय टिम सहित ‘मूलबाटो’ वार्षिक मुखपत्र प्रकाशन सम्पादक टिमको समेत नाम घोषणा गरेका महासचिव पोखरेलले कमिटिलाई एमालेको अबको कार्यदिशा भनेकै समृद्धिको कार्यदिशा रहेको समेत बोध गराए । 


उनले अबको मुखपत्रहरुमा अधिकारको मुद्दा, समावेशी आदि कुरा गरेर पाना नभर्न अनुरोध गरे । उनले अब अधिकार र समावेशिता जस्ता मुद्दाहरु फेज आउट भइसकेको भन्दै नेपाली लोकतान्त्रिक परिवर्तन आजका दिनमा तेस्रो फेजबाट गुुज्रिरहेको, त्यो चरण भनेको समृद्धिको चरण नै रहेको जिकिर गरे । 

उनका अनुसार अबका दिनमा जेलनेलका वीरगाथा, युद्धका बारुदका कथा, अधिकार प्राप्ति र समावेशिताको रटान गरेर पार्टी र नेता बन्न नसक्ने भन्दै मुलुकको आर्थिक समृद्धि, रोजगारी, नयाँ विचार र नयाँ दिशाबारे बहस उठाउन समेत निर्देशन दिएका छन् ।

उपत्यका समन्वय कमिटिमा एमालेका ४ जिल्ला कमिटीहरु (पेशागत, मजदुर, युवा–विद्यार्थी र उद्योगी व्यवसायी) आबद्ध जनवर्गीय संगठनहरु समाविष्ट छन् । यस कमिटिलाई प्रदेश कमिटि सरह मान्यता दिएको एमालेले उपत्यका प्रदेश कमिटिलाई प्रबुद्ध र प्रोफेसनलहरुको क्रिम समूहका रुपमा विकास गर्न चाहेको अध्यक्ष सुजिता शाक्यले बताउने गरेकी छन् ।

१७० सदस्यीय उपत्यका विशेष कमिटिको इन्चार्जका रुपमा पार्टी महासचिवलाई व्यवस्था गरेको छ भने अध्यक्षको जिम्मेवारी पाएकी शाक्यले आजै मात्र आफ्नो कमिटिको सचिवमा समिर नेपाललाई चयन गरेकी छन् । 

०००



प्रकाशित: २०७८ कार्तिक ८
October 25th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार