सौराहमा एमाले बुद्धिजीवीको राष्ट्रिय बहसः पार्टी बाहिरका बुद्धिजीवी सरिक हुने, ओलीले सुन्ने
निर्माण सञ्चार, ८ बुधबार ०७८, चितवन । १० औं राष्ट्रिय महाधिवेशनमा जुटिरहेको नेकपा एमालेको उद्घाटन सत्रको ठिक अघिल्लो दिन पर्यटकीय नगरी सौराहमा नेपाल बुद्धिजीवी परिषद् (नेबुप) ले बृहत् वैचारिक बहस कार्यक्रमको आयोजना गरेको छ ।
एमाले इतरका बुद्धिजीवी, योजनाविद्हरु समेत सहभागी हुने सो बृहत् बहस एमाले महाधिवेशनपछि बन्ने भावी नेतृत्वलाई दिशानिर्देश गर्ने समेत अपेक्षा गरिएको छ ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफैं घण्टौँ बसेरै भएपनि मुलुकको आर्थिक समृद्धिका लागि बुद्धिजीवीहले प्रस्तुत गर्ने थेमिटिक बहस सुन्ने भएका छन् । कार्यक्रमको मोनिटरिङ पूर्वअर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाले गर्ने तय भएको आयोजक नेबुप अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले जानकारी दिएका हुन् ।
सो कार्यक्रमको तयारीका लागि एकदिन पहिले नै (८ गते साँझ) चितवन सौराह आइपुगेको परिषद् अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. देवकोटाले बृहत् राष्ट्रिय बहसको सम्पूर्ण तयारी समेत सकिएको जानकारी दिए ।
विभिन्न क्षेत्र सम्बद्ध राष्ट्रियस्तरका बुद्धिजीवीहरु सरिक हुने उक्त बहस ‘वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशा निर्देशन’ भन्ने ब्यानरमुनि विभिन्न विषयका ८ वटा कार्यपत्र प्रस्तुत हुने छन् । कार्यक्रमको अध्यक्षता वातावरण योजनाविद् डा देवकोटा आफैंले गर्ने छन् भने कार्यक्रम सञ्चालन नेबुप महासचिव इन्जिनियर गजेन्द्र थपलियाले गर्ने छन् । कार्यक्रम मध्याह्न १२ः३० बजे आरम्भ हुने आयोजक नेबुपले बतायो ।
नेकपा एकता अवधिभर निस्क्रिय सरह रहेको बुद्धिजीवी परिषद् एमालेको महाधिवेशन घोषणा भएसँगै जागेको छ । महाधिवेशनलाई नै केन्द्रमा राखेर बुद्धिजीवी परिषद्ले देशव्यापी बहस सञ्चालन समेत गरिरहेको छ । प्रदेशस्तरमा आयोजित विभिन्न बहसहरु सातै प्रदेशमा सञ्चालन भइरहेका छन् । सुदूरपश्चिम, कर्णाली, पोखरा, जनकपुर, काठमाडौं हुँदै महाधिवेशनको उद्घाटनको अघिल्लो दिन भने महाधिवेशनस्थल चितवनमै हुने भएको हो ।
००० यो पनि बुद्धिजीवी परिषदको राजनीतिक बहसले एमालेमा ल्यायो वैचारिक तरङ्ग डा देवकोटाको निष्कर्षः ‘एमाले बलियो भएन भने राष्ट्रियता कमजोर र मेहनतकस जनताको अधिकार कुण्ठित हुन्छ’ ..................
प्रकाशित: २०७८ मंसिर ८
००० यो पनि बुद्धिजीवी परिषदको राजनीतिक बहसले एमालेमा ल्यायो वैचारिक तरङ्ग डा देवकोटाको निष्कर्षः ‘एमाले बलियो भएन भने राष्ट्रियता कमजोर र मेहनतकस जनताको अधिकार कुण्ठित हुन्छ’ ..................
प्रकाशित: २०७८ मंसिर ८
November 24th 2021
प्रतिक्रिया दिनुहोस्