
गोठाटारमा भव्य सञ्जीवनी यज्ञशाला बन्ने, २ करोड ५० लाख १० हजार लागत, नगरपालिकाले गर्दैछ सहयोग
निर्माण सञ्चार १३ चैत, काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा–८ स्थित गोठाटारमा भव्य संजिवनी यज्ञशाला बन्ने भएको छ ।
राष्ट्रिय ज्योतिष विज्ञान सञ्जीवनी यज्ञशालाको ३२ औं वार्षिक दिवस एवं बैद्धिक सनातन धर्म तथा ज्योतिष सम्मेलनको कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णहरि थापाले एकतले यज्ञशालाको आफ्नो भवन तीन तल्लाको बनाई धार्मिक र पर्यटकीय गतिविधि गर्न मार्ग खोल्ने काममा नगरपालिकाको भवन निर्माणमा पूर्ण सहयोग रहने वताए ।
राष्ट्रिय ज्योतिष विज्ञान संजिवनी यज्ञशाला एवं ज्योतिष सम्मेलनका अध्यक्ष तिलकराज पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २ करोड ५० लाख १० हजार लागतमा बन्न लागेको सो भवनको लागि १ करोड २५ लाख जनसहयोग तथा दातृनिकायबाट जुटाउने, १ करोड २५ लाख स्थानिय निकाय कागेश्वरी मनोहरा नगरपलिकाबाट लिने र १ लाख १० हजार सदस्यता वितरणबाट जुटाउने बताए ।
कार्यक्रममा पौडेलले जनसमुदायले निर्माण सामाग्री, देवीदेवताका मुर्ती समेत उपलब्ध गराउन सक्ने भन्दै भवन निर्माण सम्पन्न भए पछि ज्योतिष विज्ञान पुस्तकालय स्थापना गर्ने, गोष्ठी, प्रशिक्षण, बैदेशिक सहभागिता बढाउने लगाएतका संस्थाका संस्थागत उद्देश्य पुरा हुने समेत प्रस्ट पारे ।
सम्मेलन कार्यक्रममा चलचित्र निर्देशक तुलसी घिमिरे, सनातन धर्म सेवा समितिका संरक्षक समाजसेवी साहित्यिक व्यक्तित्व शिला पन्त, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रमका बारेमा धारणा राखेका थिए ।
सम्मेलनमा विभिन्न क्षेत्रका २०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
०००
प्रकाशित: २०७८ चैत्र १३

०००
प्रकाशित: २०७८ चैत्र १३
March 27th 2022
प्रतिक्रिया दिनुहोस्