नेपाली समय: ०६:११:२१ बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विरोधमा उत्रिए ‘शान्ति समाज’ र केही ‘मधेशी युवा’ !

निर्माण सञ्चार, २३ असोज, काठमाडौं । नेपालमा अनौठो लाग्ने गरी चीन विरोधी गतिविधि सतहमा देखिन थालेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नयाँ शैलीका विरोधहरु देखिएका हुन् ।  

सरकारले चिनियाँ राष्ट्रपतिको सम्मानका लागि सडक किनारामा तयार गरेको ब्यानर च्यातिएपछि यस्तो विरोध बाहिर देखिएको हो । बुधबार मात्रै नयाँ बानेश्वर, बबरमहल सडक, सिंहदरबार आसपास सडक किनारामा राखिएको ब्यानर च्यातिएको पाइए पछि प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ ।

  • को हुन् विरोधम उत्रने युवा, तिनको भारतसम्म कस्तो छ ‘कनेक्सन’ ?!

विरोध गर्नेहरुमा शान्ति समाजका नाउँमा एउटा समूह सक्रिय भएको छ भने पहिचान नखुलेका केही मधेशी युवाहरुको समूह पनि सक्रिय भएको पाइएको छ ।

ब्यानर च्यात्ने र सामाजिक सञ्जाल फेसबुक मार्फत् समेत विरोधमा उत्रिएको पाइएको छ । सामाजिक सञ्जालबाट विरोधमा उत्रनेमा विकास ठाकुर नाउँका एक युवक पनि रहेका छन् ।

विकास ठाकुरले आफ्नो फेसबुक र ट्विटरमा स्टाटस लेखेका छन् । 

https://www.facebook.com/swastikbikash/posts/2700552979996824 सी भ्रमणको पूर्वसन्ध्यामा नेपाल फाउन्डेसन नामक गैरसरकारी संस्थाका अध्यक्ष रहेका विकास ठाकुरले फेसबुक र ट्विटरमार्फत सी भ्रमणको चर्काे विरोध गरेका छन् ।

उनले आफ्नो विरोधमा सीको भ्रमणबाट सत्तारुढ दल नेकपालाई मात्र फाइदा हुने बताएका छन् । उनले चीनमा नेपाली चेलीलाई लोभ देखाएर यौन शोषण भइरहेको, चिनियाँ नागरिकहरुले नेपालमा एटिएम हयाकिङ गरी बैंक लुटेको आरोप लगाएका छन्।

उनको राजनीतिक पृष्ठभूमि भने नेपाली काँग्रेस रहेको देखिएको छ । उनले आफ्नो फेसबुक वालमा आफू नेपाली काँग्रेस पार्टीमा सक्रिय भएको परिचयमा खुलाएका छन्। 

उनको सम्बन्धलाई लिएर प्रहरी चकित पनि परेको छ । ठाकुरको सम्बन्ध भारतीय जनता पार्टी (भाजपा) का नेता भगवत सिंह कोसियारी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ लगायतसँग रहेको देखिन्छ।

सीको स्वागतका लागि बनाइएको ब्यानर बुधबार राति च्यातिदिएको आरोपमा रौतहट घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३० वर्षीय राजकुमार ठाकुर पक्राउ परेका हुन्।

राजकुमार ठाकुर चाहिँ पुरानो वानेश्वरमा ‘एरोना ब्युटी सैलुन’ चलाइरहेका छन् । उनको राजनीतिक पृष्ठभूमि खुल्न सकेको छैन। उनीसँगै उदयपुर घर भएका ३६ वर्षीय गोपाल सार्की पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

विरोधमा शान्ति समाज सक्रिए !

विरोध गर्नेहरुमा शान्ति समाजका नाउँमा एउटा समूह सक्रिय भएको छ ।

शान्ति समाजलाई आजसम्म ‘मानवअधिकार संगठन’का नाउँमा चिनिने गरिएको थियो । चीन विरोधी गतिविधिमा प्रहरीमा पत्राचार नै गरेर उत्रिने तयारी गरेको पाइए पछि शान्ति समाजमाथि समाजले नै प्रश्न चिह्न उठाउने अवस्था देखिएको छ ।

चिनियाँ उच्च अधिकारीहरु नेपाल भ्रमणमा रहँदा यस अघि भने तिब्बती शरणार्थीले मात्रै विरोधमा उत्रने गरेकामा यस पटक भने शान्ति समाज र मधेशी युवाका नाउँमा केही समूहहरु योजनाबद्ध रुपमा उत्रिएको नेपाल प्रहरीको विशेष सूत्रले बताएको हो । 

चिनियाँ राष्ट्रपति सी २ दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन्। सी असोज २५ गते भारत भ्रमण सकेर चेन्नईबाट सिधै काठमाडौं आउने कार्यतालिका बनेको सरकारी स्रोतले यस अघि नै जानकारी गराइसकेको अवस्था छ । 

भ्रमण सकेर सी २६ गते आइतबार बेइजिङ फर्कने छन् ।
...

शान्ति समाजका नाउँमा विरोध गर्न पाउँ भनी निवेदन !

सी भ्रमणको समयमा चिनियाँ भीसा काउन्सिल कार्यालय हात्तिसार अगाडि शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पाउनु पर्ने माग नै राखेर मानवअधिकार तथा शान्ति समाजको युवा संगठनले बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको छ।
 
बुधबार राति बिजुलीबजारस्थित धोवी खोलाको पुल र तिनकुनेमा सी भ्रमणको स्वागतमा टाँगिएका ब्यानर च्यातिएको भोलिपल्ट विरोधका लागि निवेदन परेको हो।

मानवअधिकार तथा शान्ति समाजको युवा संगठनका केन्द्रीय संयोजक बिपी पौडेलले विरोध प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

तस्वीरमा शान्ति समाजको युवा संगठनको नाउँमा प्रहरीमा विरोध गर्न पाउँ भन्दै दर्ता गराइएको पत्र 
पौडेलले ‘उत्तर कोरियाको परमाणु अस्त्र निशस्त्रीकरणमा चीनले रहस्यात्मक भूमिका खेलेको, जलवायु परिवर्तन गर्नमा बढी कार्वन उत्पादन गरेको र लिपुलेकबाट नाका खोल्ने सम्बन्धमा नेपालको सहमतिबिना भारतसँग सम्झौता गरेको कारणले चीनको विरोध गर्नुपर्ने’ तर्क राख्दै उनले विरोध गर्न पाउने माग गरेका हुन् ।


अघिल्लो महिना सी भ्रमणको तयारीका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध पनि समाजवादी पार्टी नेपालकी नेतृ सुनिता साहको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो। सो प्रदर्शनमा सहभागी नारी चेतना समाजकी अध्यक्ष शोभा डंगोलसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

तर मधेशका युवाहरुका नाउँमा सक्रिय गिरोहले प्रचारका रुपमा भने चीनले मधेसमा कुनै पनि विकासका कार्यक्रम नल्याएको भन्दै विरोध गरेको देखिन्छ ।


चीनले मधेसमा पनि रेलमार्ग, हुलाकी सडक र कृषिको आधुनिकीकरण गर्ने परियोजना ल्याउनु पर्ने तर्क गर्दै उनले भने, ‘चीनले मधेसमा आयोजना ल्याएन भन्ने गुनासो उनीहरुको देखिए पनि वास्तविकता त्यस्तो नरहेको मधेसी समुदाय छ।’

प्रदेश २ का कम्तिमा पाँचजना पूर्व र हाल प्रतिनिधि सभामा सदस्य रहेका व्यक्तिले निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग भेटवार्ता गरेको सार्वजनिक भइसकेको छ। 

मधेसी मिडिया फाउन्डेसनका अहिराजका अनुसार मधेसमा १२ पटक भन्दा बढी चीनको झण्डा जलिसकेको छ।

तराईमा चीन लक्षित विरोध बढिरहेको छ । यस अघि पनि पटक पटक गरेर १२ पटक चिनियाँ झण्डा जलाउने काम भएको प्रहरी बताउँछ ।

 

०००

 



प्रकाशित: २०७६ आश्विन २३
October 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार