नेपाली समय: ०१:०३:०० अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

इन्जिनियरिङ स्टाफ कलेजका लागि इतिहासमै पहिलो बजेटः ‘उत्साही इन्जिनियरिङ क्षेत्र’

बुधबार, १५ जेठ, निर्माण सञ्चार, काठमाडौं । इन्जिनियरिङ क्षेत्रलाई पूर्वाधार विकासको कडी भनिन्छ । यो क्षेत्र विशेष गरी इन्जिनियरिङ कन्सल्टिङ क्षेत्र ‘कन्स्ट्रक्सन ब्रेन’का रुपमा समेत चिनिन्छ ।

देशको पूर्वाधार रुग्ण, गरिब र चिन्ताजनक हुनुका पछाडि प्राविधिक रुपले उच्च गुणस्तरीय जनशक्ति नहुनु पनि हो । जुन जनशक्ति इन्जिनियरिङ शिक्षा र पेसाले उत्पादन गर्ने गर्छ ।

उच्च गणस्तरीय क्षमता आर्जन गर्न समय समयमा नयाँ नयाँ प्राविधिक ज्ञान, सीप र दक्षता अवलम्बन गर्न सक्नु पर्दछ भन्ने कुरा बुझेको नेपालको इन्जिनियरिङ क्षेत्रले लामो समय पछि इतिहासमै पहिलो पटक ‘इन्जिनियरिङ स्टाफ कलेज’ का बजेट पाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै बुधबार ‘इन्जिनियरिङ स्टाफ कलेज’ स्थापना गर्ने उद्देश्य सहित सम्भाव्यता अध्ययनका लागि भनी बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

नेपाल इन्जिनियरिङ एसोसिएनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले आफूहरुको वर्षौंदेखिको मागले आज मूर्त रुप लिएको भन्दै सरकार र सम्बन्धित सबैमा धन्यवाद ज्ञापन नै गरेका छन् ।

निर्माण सञ्चारसँग बोल्दै नेइए अध्यक्ष प्राडा बज्राचार्यले भने, ‘इन्जिनियरिङ स्टाफ कलेज’ स्थापनाको माग नेइएको यो कार्यसमितिको मात्रै होइन । यस अघिका कयौं कार्यसमितिले पनि माग्दै आएका थियौं । तर, आज यो सरकाराले हाम्रो मागको सम्बोधन गरेको छ । हामी सरकार सहित सम्बन्धित सहयोगी सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छौं ।’

उनले सम्भाव्यता अध्ययन भन्नु नै स्थापना हो भनेका छन् । उनले अघि भने, ‘सम्भाव्यता अध्ययन विना कुन ठाउँमा, कुन स्तरको, कस्तो कसरी भन्ने परियोजनाको विस्तृत खाका नआउने हुनाले सम्भाव्यता अध्ययन नै पहिला हुन आवश्यक छ । यसले कामको इनिसिएसन गर्यो भन्ने त भयो नै । सरकारले बजेट मार्फत् हाम्रो माग नै सम्बोधन गरेको छ । यही नै स्वागतयोग्य कुरा पनि हो ।’

उनले आगामी दिनमा सरकारले सम्बोधन गरेको उक्त परियोजना पूरा गर्न सिंगो इन्जिनियरिङ क्षेत्र सहयोगी भएर अघि बढ्ने पनि बताए । यही मागबारे ‘इन्जिनियरिङ क्षेत्रबाट पूर्वाधार क्षेत्रमा परामर्शदाता पेसाको छाता संगठन स्क्याफले समेत सरकारलाई धन्यवाद दिएको छ ।

स्क्याफ महासचिव कृष्ण सापकोटा लामो समयदेखि ‘इन्जिनियरिङ स्टाफ कलेज’को माग बोकेर पटक पटक सरकार र सम्बन्धित नीति निर्माण तहमा दौडने मध्येका एक हुन् । 

महाचिव सापकोटा मागको सम्बोधनले आफूहरु उत्साही भएको बताउँछन् । उनले भने, ‘नेपालले पूर्वाधार क्षेत्रको विकास विना समृद्धि देखेको छैन । साँच्चिकै समृद्धि चाहने हो भने गुणस्तरीय प्राविधिक जनशक्ति विनाको गुणस्तरीय पूर्वाधार विकास सोच्न सक्ने कुरै भएन । यतिबेला मुलुकले अब दक्ष जनशक्ति चाहिन्छ है भन्ने कुरा बुझेको महसुस भएको छ । किनभने, यो क्षेत्रले दशकौंदेखि राख्दै आएको माग किन पहिले नै पुरा भएन त ? भनेपछि सरकारले पनि यो कुरा यतिबेला आएर मात्र बुझेको छ भन्ने हामीलाई लागेको छ । यो सरकार नै प्राविधिक क्षेत्रको आवाज सुन्ने कान भएको सरकार त रहेछ नि ।’

उनले यो माग पूरा गराउन लाग्नु हुने वरिष्ठ इन्जिनियरदेखि सबैमा हार्दिक धन्यवाद भनेका छन् ।

त्यस्तै, अर्थमन्त्री डा खतिवडाले माग सम्बोधन गरे लगत्तै आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट इन्जिनियर घनश्याम भट्टराईले पनि इन्जिनियरिङ कलेज स्थापनाका लागि इन्जिनियरिङ समुदायलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा प्राविधिक सल्लाहकारका रुपमा समेत भूमिका खेलिरहेका ई. भट्टराई इन्जिनियरिङ क्षेत्रको यो माग सरकारसम्म पुराउनेमा एक व्यक्ति पनि हुन् । उनी मेलम्ची खानेपानी आयोजनाका पूर्व प्रमुख समेत हुन् ।

OOO

पढौं यो पनि

आर्थिक वर्ष २०७६–७७ बजेट (लाइभ)-- ‘सुदूरपश्चिम क्षेत्रलाई सदाका लागि अँध्यारो मुक्त’ घोषणा

 



प्रकाशित: २०७६ जेठ १५
May 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार