नेपाली समय: ०१:३५:०६ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

‘अबको यात्रा उज्यालै उज्यालोतिर’ –पर्यटनमन्त्री भट्टराई (भिडियो सहित)

निर्माण सञ्चार, पुस १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन तयारी पूरा भएको जनाएको छ । 

भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०३० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर नेपालको आर्थिक समृद्धिलाई पर्यटन मार्फत बडोत्तरी गर्ने लक्ष्य पनि निर्धारण गरेको छ । 

सोमबार राजधानीमा संचार साक्षात्कार गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो ।मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दीपावली मनाउन आह्वान गरेका छन् । 

भ्रमण वर्षकै तयारीका लागि एक सय वटाभन्दा बढी संघसंस्थासँग छलफल गरिएको छ। औपचारिक कार्यक्रम काठमाडौंसहित सातै प्रदेशका विभिन्न स्थानबाट हुने जानकारी मन्त्री भट्टराईले दिए। उनका अनुसार २०२० को एक वर्षमा २० लाख पर्यटक ल्याउन बढीभन्दा बढी प्रयास भइरहेको छ। 

मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको उनले बताए ।

नेपाल पर्यटनका लागि संसारमै एक अद्धितिय पर्यटकीय गन्तव्य हो भनेर चिनाउन, विश्भरीका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी गराउने उद्देश्यले यसको आयोजना गरिएको उनले बताए । 

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको शुभारम्भको दिन सरकारले सबैलाई देशभरि दिपावली गरेर स्वागत गर्न आह्वान गरेको भन्दै सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा दिपावली गर्न आग्रह गरे ।


    
उनले भने, ‘त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको सङ्केत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईहरु मार्फतआम जनसमुदायलाई अपिल गर्न चाहान्छु, सबैले दिपावली गरौँ र दुनियाँलाई भनौँ, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।’
    
मन्त्री भट्टराईले देशको प्रतिष्ठासँग गासिएको भ्रमण वर्षको तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गर्दै देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको उल्लेख गरे ।
    
‘पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्नेछौँ । २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।’
    
पर्यटनमन्त्री भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको तथा पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना रहेको उल्लेख गरे ।
    
उनले पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशत योगदान रहेको र १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको र त्यसलाई सार्थक बनाउन पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा जोड दिएको बताए ।
    
नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। दशरथ रंगशालाबाट राष्ट्रपति भण्डारीले बुधबार (१ जनावरी २०२०) भव्य समारोहणबीच भ्रमण वर्षको उद्घाटन गर्ने भएकी छन्।

उकत कार्यक्रममा पाँच देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी हुनेछन्। 

उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्नेछन् । उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ । 


हेरौं भिडियो

https://www.youtube.com/watch?v=aRRtRPP2Pe8&t=49s  

पढौं यो पनि

 

०००



प्रकाशित: २०७६ पौष १५
December 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार