‘मिनीग्रिड विशेष कार्यक्रम’ शुभारम्भ, मन्त्री पुनले भने– ‘यो वर्ष ४० जिल्लालाई पूर्ण विद्युतीकरण गछौं’
निर्माण सञ्चार, १८ फागुन, काठमाडौं । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उज्यालो नेपाल अभियान अन्तरर्गत मिनी ग्रिड विशेष कार्यक्रमको शुक्रबार शुभारम्भ भएको छ ।
नेपाल सरकारद्वारा उज्योलो नेपाल अभियान अन्तरर्गत विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा पुर्याउने उद्देश्यले आव २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट मार्फत घोषणा गरिएको मिनीग्रिड विशेष कार्यक्रमको उर्जा मन्त्री वर्षमान पुनले शुभारम्भ गरेका हुन् ।
कार्यक्रम अन्तरर्गत विद्युतीकरण हुन बाँकी रहेका स्थानहरुमा विद्युतीकरण गरी सबैमा विद्युतको पहुँच पुर्याउने लक्ष्य रहेको छ ।
‘यो वर्षको वजेटमा तीन वर्षभित्र देशभर पूर्ण विद्युतिकरण गर्ने सरकारको नीति योजना तथा कार्यक्रम रहेको छ,’ मन्त्री पुनले भने, ‘यो वर्ष ४० जिल्लालाई पूर्ण विद्युतिकरण गर्दै छौं । प्रदेश २ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई पूर्ण विद्युतिकरण गरी उज्यालो पार्ने कार्यक्रम सरकारले अगाडि बढाएको छ ।’
उनले भने, ‘देशभरमा विद्युतिकरण गरी उज्यालो पार्ने कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशको लागि २२ अर्व बजेट स्रोत सुनिश्चित गरेको छौं ।’
तत्कालिन अवस्थामा विभिन्न भौगोलिक जटिलताले गर्दा देशभरमा केन्द्रिय पहँुच पुराउन नसकिने अवस्थामा ‘हरेक घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती’ बनाउने सरकाराले नँया अवधारणा लिई बस्ती भएको ठाँउमा ३७ करोड बजेट राखेर कार्यक्रम अगाडि बढाइएको पुनले बताए ।
कार्यक्रम कार्यान्वयनको लागि उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयबाट मिनीग्रिड विशेष कार्यक्रम सञ्चालन नियमावली २०७६ पुस २ गते स्वीकृत भएको छ ।
नेपालको उर्जा क्षेत्रलाई नबीकरणीय उर्जा र उर्जा क्षमता प्रवद्र्धनको माध्यमबाट टेवा पुर्याउने उद्देश्यका साथ क्रियाशील बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यान्वयन गर्ने मिनीग्रिड विशेष कार्यक्रम अन्तरगत विशेष गरी नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी राष्ट्रिय प्रशारण लाइन तत्काल पुग्न नसक्ने र राष्ट्रिय प्रशारण लाइन पुर्याउन खर्चिलो र झण्झटिलो हुने क्षेत्रमा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युतीकरणका कार्यहरु गरिने बताइएको छ ।
कार्यक्रम अन्तरगत नवलपरासी जिल्ला स्थित नेपाल भारत सीमामा पर्ने सुस्तामा १०० किलोवाट र रोल्पा जिल्लाको थवाङ गाउँ पालिकामा १५० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजनाहरुको निर्माण कार्य थालनी भइरहेको बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले जनाएको छ ।
हालसम्म विभिन्न जिल्लाहरुबाट माग भई आएका ४५ भन्दा बढी मिनीग्रिड आयोजनाहरुलाई कार्यान्वयन गर्नको लागि आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई कार्यान्वयनको चरणमा रहेको र १२ वटा मिनीग्रिड आयोजनाको खरिद प्रक्रियाको शुरुवात आजैदेखि गरिएको केन्द्रले जनाएको छ ।
आगामी ३ वर्ष भित्र यस कार्यक्रमलाई अभियानको रुपमा देशभर कार्यान्वयन गरी सबै नेपालीका घरघरमा विद्युतको पहुँच पुर्याउने जनाइएको छ ।
हालसम्म केन्द्रको अगुवाईमा देशका विभिन्न भागमा २० वटा भन्दा बढी सौर्य तथा वायु मिनीग्रिड आयोजना सम्पन्न भई सञ्चालनमा रहेका छन् । जसबाट ८०० किलोवाट भन्दा बढी विद्युत उत्पादन भई ग्रामीण जनतामा विद्युत सेवा उपलब्ध भएको छ ।
०००
पढौं यो पनि
विद्युतको पहुँच पुर्याउने लक्ष्यसहित हुम्ला र डोलपाका २ गाउँपालिकासँग १२ आयोजनाको सम्झौता
प्रकाशित: २०७६ फाल्गुण १८
विद्युतको पहुँच पुर्याउने लक्ष्यसहित हुम्ला र डोलपाका २ गाउँपालिकासँग १२ आयोजनाको सम्झौता
प्रकाशित: २०७६ फाल्गुण १८
March 1st 2020
प्रतिक्रिया दिनुहोस्