नेपाली समय: ११:२२:५२ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

‘एइपिसी’को मिनीग्रिड विषेश कार्यक्रम शुभारम्भ, विद्युतको पहुँच पुर्याउने लक्ष्यसहित हुम्ला र डोलपाका २ गाउँपालिकासँग १२ आयोजनाको सम्झौता

निर्माण सञ्चार, १९ फागुन काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ‘एइपिसी’ले हुम्ला र डोलपाका २ गाउँपालिकासँग १२ आयोजना कार्यानवयनको लागि सम्झौता गरेको छ । 

शुक्रबार राजधानीमा ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत ‘एइपिसी’काे मिनीग्रिड शुभारम्भ विशेष कार्यक्रमा कर्णालीका दूर्गम गाउँपालिकामा विद्युतको पहुँच पुर्याउने गरी आयोजनाको सम्झौता गरिएको हो । 

उक्त्त कार्यक्रमको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७९/८० भित्र सौर्य तथा वायु ऊर्जाका ६ सय आयोजना निर्माण सम्पन्न गरिने बताए । कार्यक्रम उद्घाटन गर्दै उनले कर्णाली र सुदुरपश्चिम प्रदेशका जनता लाभान्वित हुने बताए ।

‘राष्ट्रिय प्रणाली नपुगेका जिल्लामा मिनी ग्रिड कार्यक्रमबाट विद्युतीकरण हुन्छ,’ उनले भने, ‘वार्षिक २ सय आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।’ कर्णालीका हुम्ला र डोल्पा जिल्लाबाट मिनी ग्रिडको थालनी गर्न स्थानीय तहसँग सम्झौता भएको पनि उनले बताए ।

‘यो वर्षको वजेटमा तीन वर्षभित्र देशभर पूर्ण विद्युतिकरण गर्ने सरकारको नीति योजना तथा कार्यक्रम रहेको छ,’ मन्त्री पुनले भने, ‘यो वर्ष ४० जिल्लालाई पूर्ण विद्युतिकरण गर्दै छौं । प्रदेश २ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई पूर्ण विद्युतिकरण गरी उज्यालो पार्ने कार्यक्रम सरकारले अगाडि बढाएको छ ।’

उनले भने, ‘देशभरमा विद्युतिकरण गरी उज्यालो पार्ने कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशको लागि २२ अर्व बजेट स्रोत सुनिश्चित गरेको छौं ।’

तत्कालिन अवस्थामा विभिन्न भौगोलिक जटिलताले गर्दा देशभरमा केन्द्रिय पहुँच पुराउन नसकिने अवस्थामा ‘हरेक घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती’ बनाउने सरकाराले नँया अवधारणा लिई बस्ती भएको ठाँउमा ३७ करोड बजेट राखेर कार्यक्रम अगाडि बढाइएको पुनले बताए ।  

सरकारले अबको साढे २ वर्षमा सौर्य तथा वायु ऊर्जा मिनी ग्रिडमार्फत १ लाख घरधुरीमा विद्युतको पहुँच पुर्याउने भएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणाली नपुगेका दुर्गम गाउँमा सौर्य तथा वायु ऊर्जा प्रविधि जडान गरी विद्युत सेवा पुर्याउन लागिएको हो ।

हुम्लाको ताजगोठ गाउँपालिका प्रमुख बागदल मल्लसँग १२५ किलोवाटका ४ आयोजना निर्माण गर्न सम्झौता भएको छ । यी योजना सम्पन्न हुँदा कर्णालीका गाउँपालिकाका ४ सय ६० घरधुरी लाभान्वित हुनेछन् । 

डोल्पाको सेफोक्सुण्डो गाउँपालिका प्रमुख तासी गुरुङसँग ५० किलोवाटका ४ आयोजनाको सम्झौता भएको छ । यी आयोजना सम्पन्न हुँदा गाउँपालिकाका १ सय ७६ घरधुरीले विद्युत सेवा पाउने केन्द्रले जनाएको छ ।

कार्यक्रम अन्तर्गत नवलपरासीको सुस्तामा सय किलोवाट र रोल्पाको थवाङमा १५० किलोवाटको सौर्य मिनी ग्रिड आयोजना निर्माणाधीन छन् । 

केन्द्रले यसअघि सञ्चालन गरेको कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा २० भन्दा बढी सौर्य तथा मिनी ग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । यी आयोजनाबाट ८ सय किलोवाट विद्युत उत्पादन गरेर दुर्गम गाउँमा विद्युतीकरण गरिएको छ ।

 

०००

पढौं यो पनि
‘मिनीग्रिड विशेष कार्यक्रम’ शुभारम्भ, मन्त्री पुनले भने– ‘यो वर्ष ४० जिल्लालाई पूर्ण विद्युतीकरण गछौं’

 

 



प्रकाशित: २०७६ फाल्गुण १९
March 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार