नेपाली समय: ०४:५६:१६ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

लक डाउन ८ दिन बढ्नेः विदेशबाट आएर लुकीछिपी बसेमा कारबाही गरिने, बिना काम सडकमा हिँड्नेलाई कस्तो हुन्छ कारबाही ?

निर्माण सञ्चार, १७ चैत, काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ८ दिन थप लक डाउन गर्ने निर्णय गरेको छ । 


आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।

यस अघि आइतबार ४ बजे सिंहदरबारमा बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बढीमा १४ दिनसम्म लक डाउन थप्न सक्ने सीमा राख्दै मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले यसअघि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय सहित ‘लक डाउन’ गरेको थियो। 

यो निर्णय अनुसार अब लक डाउन कम्तीमा चैत २८ गतेसम्म रहने निश्चित भएको छ । 

सोही बैठकले विपन्‍न तथा दैनिक ज्यालादारीमा जीवन गुजारा गरिरहेकाहरुलाई निःशुल्क राहत वितरण गर्ने निर्णय पनि सरकार समक्ष सिफारिस गरेको छ ।

० लक डाउन अटेर गरेमा कस्तो हुन्छ कारबाही ?

समितिले क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने निर्णय गरेको 
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

यो कारबाही विदेशबाट आएर लुकीछिपी बसेका वा क्‍वारेन्टाइनमा बस्न नमानी भागी भागी हिँडेकाहरुलाई हुने छ ।

बिडारीका अनुसार क्‍वारेन्टाइनमा बस्न नमान्ने अथवा लुकेर गाउँघरमा बस्ने, सम्पर्क गर्दा पनि कन्ट्याक्टमा नआउने अवस्था भेटिएकाले यस्तो निर्णय लिनु परेको हो ।

यो कारबाही ६ महिनासम्मको हुने छ । ऐनमा व्यवस्था भएबमोजिम यसखाले कडा कारबाही गृहप्रशासन मार्फत् हुने छ ।

ऐन अनुसार आदेश अपहेलना गर्ने व्यक्ति १ सय रूपियाँ जरिबानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद, ६ सय रूपियाँ जरिबाना या दुवै हुन सक्ने व्यवस्था छ। 

कुन कारबाही गर्ने भन्ने निर्धारण प्रमुख जिल्ला अधिकारीको तजबिजमा निर्धारण हुने छ ।
० चीनबाट आएका सामग्री कुन प्रदेशलाई कति कति ?

उच्चस्तरीय समिति बैठकले चीनबाट आएका पाँचथान प्रोटेबल पिसिआर मेसिनमध्ये प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक थान पठाउने निर्णय पनि गरेको छ ।

समितिको स्रोत अनुसार एक थान चाहिँ काठमाडौंमै राख्ने र आवश्यक परेको प्रदेशलाई पछि पठाउन सकिने गरी निर्णय गरेको छ ।

भारतबाट धपाइएका र नेपालको दशगजामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशको अनुमति दिने समितिको निर्णय छ । 

अब दशगजाबाट स्वदेश प्रवेश नपाएका नेपालीहरु नेपाल प्रवेश पाउने छन् । तर, ती सबै नेपालीले १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने सर्त रहेको छ। 

अस्ट्रेलिया लगायत विभिन्न विदेशी मुलुकमा रहेका नेपाली विद्यार्थीका हकमा भने सरकारले जहाँ हो त्यही नै बस्न आग्रह गरेको छ । 
तर, आवश्यक आर्थिक सहयोग चाहिएमा पैसा पठाउनका लागि राष्ट्र बैंकले समन्वय गरिदिने भनिएको छ । 


०००

पढौं यो पनि

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 



प्रकाशित: २०७६ चैत्र १६
March 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार